परस्त्री अभिनेत्री मास्के भन्छिन् : पात्र र कलाकार फरक हुन्

अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् । अभिनय गरेको चलचित्रको संख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उनको चाहना छ । 

त्यसैले उनी छनाेटमा विशेष ध्यान दिन्छिन् । चलचित्र ‘सानो मन’मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’का कारण चर्चामा छिन् । 

यसमा उनले रेडियोकर्मीको भूमिका निर्वाह गरेकी छन् ।'मेरो पात्रको नाम आव्या हो । उनले आत्मनिर्भर हुँदा पनि परिवारको रोजाइमा विवाह गरेकी हुन्,' उनले पात्रको बारेमा जानकारी दिँदै भनिन् । 

सुरज पाण्डेको पहिलो निर्देशकीय चलचित्रमा अभिनेत्री मास्के ‘बोल्ड’ देखिएकी छन् । उनलाई यो भूमिका प्रस्ताव आउँदा डर पनि लागेको थियो । 'किनकि हामी कहाँ बोल्ड दृश्यको चर्चा धेरै हुन्छ । मैले उक्त पात्रलाई निर्वाह गरे पनि त्यो प्रश्न मलाई नै आउँछ । त्यसैले अभिनय गर्ने सहमति दिनु अगाडि धेरै सोचेकी थिएँ,' उनले भनिन् । 

उनलाई ‘बोल्ड दृश्य दिएको ?’ भन्ने पनि छन् तर, अभिनेत्री मास्के पर्दामा देखिएकी आफू नभई ‘आव्या’ रहेको बताउँछिन् । चलचित्रमा उनी वैवाहिक जीवनबाट दुःखी भएर परपुरुषको प्रेममा परेकी महिलाको भूमिकामा देखिँदै छन् । 

अविवाहित भएकाले पात्रलाई जीवन्त बनाउन उनले केही अनुसन्धान पनि गरिन् । विवाहित महिला अन्यप्रति आकर्षित हुनुको कारण बुझेर मात्र चलचित्रको पात्रलाई प्रस्तुत गर्न मानसिक रूपमा उनी तयार भएकी हुन् । 



'चलचित्रमा हाम्रो समाजको एउटा पाटोलाई देखाइएको छ । यो कथालाई पर्दामा ल्याउँदा केही बोल्ड दृश्य पनि छन्, तर ती कलात्मक शैलीमा छायांकन गरिएको छ,' अभिनेत्री मास्केले भनिन्, 'यो भूमिकालाई निर्वाह गर्ने सहमति दिनुमा निर्माण टिम पनि कारक छ । किनकि निर्माण समूहसँग विश्वास भएन भने ती दृश्य अस्वाभाविक र अपाच्य लाग्न सक्छ, तर मलाई टिमसँग विश्वास थियो ।'

पात्रका विषयमा छायांकनअगावै गरिने कार्यशालामा पूर्ण रूपमा स्पष्ट भएको उनले बताइन् । ‘पशुपति प्रसाद’जस्ता चलचित्र निर्देशन गरेका दीपेन्द्रकुमार खनालद्वारा लिखित कथा रहेका कारण आफू साे चलचित्रमा काम गर्न राजी भएकाे उनकाे भनाइ छ । 



चलचित्रमा उनीसँगै अभिनेता कोसिस क्षेत्री, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन् । 

  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १९:५०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया