हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन् । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रूपमा विकास गर्नुपर्ने बताए । 

उनले नेपाललाई भूगर्भ र सतहअनुसार विकास गर्न नसक्दा दिगो विकास हुन नसकेको बताए । गौतमले कुनै पनि बेला विपद्जन्य घटनाहरू हुन सक्ने प्रति सरकारको ध्यानाकर्षण गराए । उनले नेपालको नेतृत्वमा भौगोलिकताअनुसार विकास गर्ने सोच नभएको बताए ।

उनले भने, ‘हामीले हाम्रो देशको भूगर्भित, सतहको आधारमा विकास गरेनौँ । दिगो विकास गरेनौँ । त्यसकै परिणाम आज हामी भोग्दै छौँ । पोहोर साल हाम्रो सगरमाथा बढ्यो । यो प्रमाण के हो भने हाम्रो जमिन हल्लिरहेको छ । हल्लिरहेको जमिन हो, कुनै पनि बेला बाढी आउन सक्छ । थोरै मात्रै केही तलमाथि पर्‍यो की पहिरो गइहाल्छ । हामीले यस्तो ठाउँमा कसरी विकास गर्ने भन्ने सोचाई भएन । यो परिवर्तन गर्नुपर्छ । हिमालमा त्यही किसिमको व्यवस्थापन गरौँ । हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ । त्यस्ता टाकुरा १० हजार भन्दा धेरै छन् । त्यहाँ पर्यटन स्थल बनाइदियो भने पर्यटन कहाँ राखौँ भन्ने अवस्था आउँछ तर हामीले त्यो गर्न सकेनौँ । अरूको देखेर जहाँ पनि डोजर चलाएका छौँ । त्यसको नियन्त्रण गरौँ र दिगो विकास त्यहाँ लागू गरौँ ।’

गौतमले पहाडमा जबरजस्ती चलाइएको डोजर आतङ्क रोकेर दिगो विकास लागू गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार १७:३०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया