प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी गरिने

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ८ गतेदेखि पुस्तक प्रदर्शनी सुरु गरिने भएको छ । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक र पत्रपत्रिका गरी छ सयभन्दा बढी राख्ने तयारी भएको व्यवस्थापक सुधीर ढुंगेललले जानकारी दिए । 

प्रदर्शनीमा प्रज्ञाले २०३० देखि २०८० जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिनेछ । तीन रुपैयाँदेखि तीन हजार तीन सय ३५ सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिने जनाइएको छ ।  

प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवम् अति उपयोगी पुस्तक एवम् पत्रपत्रिका समावेश गरिनेछ ।

नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अंग्रेजी शब्दकोशलगायतको बिक्रीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रतिष्ठानबाट  प्रकाशन सुरु भएदेखि ०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिनेछ । 

माटोको ममता, महेन्द्र प्रवचन मालाजस्ता तीनदेखि प्रज्ञा नेपाली बृहत् शब्दकोशको तीन हजार तीन सय ३५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको छ । यसअघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरु बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीका अवसर पारेर पुस महिनामा, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।



प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको जनाइएको छ । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने र दैनिक २० हजार बराबरको पुस्तक बिक्री हुने अपेक्षा गरिएको व्यवस्थापक ढुंगेलले बताए । 

हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ । प्रदर्शनीको मुख्य उद्देश्य पठन संस्कृतिको विकास गर्नु रहेको जनाइएको छ । प्रदर्शनीको शुक्रबार बिहान कुलपति भुपाल राईले शुभारम्भ गर्नेछन् ।



  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार २०:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया