यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुखविरुद्ध मुद्दा, लाइसेन्स परीक्षामा फेल भएकालाई पास गराएको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ ।

अख्तियारले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख शाह, तत्कालीन सहायक कम्प्युटर अपरेटर, नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको आरोप छ ।

कार्यालय प्रमुख शाहले सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरूमा अनुत्तीर्ण भएका परीक्षार्थीको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

त्यस्तै, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीको लिखित परीक्षाको परिणाम फेरबदल गरेका थिए । 

प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका २८३ जनालाई उत्तीर्ण बनाएको आरोप शाहविरुद्ध लगाइएको छ । शाहले प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका ३९ जनालाई उत्तीर्ण भनेर सिस्टममा प्रविष्ट गरेको दावी गरिएको छ । 



रावलले सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षामा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण बनाएको अख्तियारले जनाएको छ ।

अख्तियारले सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध पनि मुद्दा दायर गरिएको छ । अख्तियारले शाहको निर्देशनमा कठरिया र रावलले फिल्ड प्रतिवेदन नै सच्याएको जनाएको छ ।



आर्थिक वर्ष २०७८/७९ मा शाह यातायात व्यवस्था कार्यालय धनगढी प्रमुखका रूपमा कार्यरत रहेका बेला उक्त बदमासी भएको अख्तियारले जनाएको छ ।

  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १७:०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया