सुदूरपहाडका राजमार्गमा खाल्डै-खाल्डा, यात्रा जोखिमपूर्ण
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ ।

राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए । भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका मुख्य राजमार्ग हुन् । यी राजमार्गमै यात्रुले सास्ती भोग्नुपरेको छ । ‘पक्की सडकमा जताततै खाल्डाखुल्डी छन्, यात्रा गर्दा निकै सास्ती भोग्नुपरेको छ । मोटरसाइकल चलाउन त झनै समस्या छ,’ उनले भने ।

सडकको दूरावस्थाका कारण सवारीसाधन चलाउनै मुस्किल भइरहेको सवारी चालकले बताएका छन् । सडकमा भएका खाल्डाखुल्डीका कारण जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था रहेको बस चालक महेश भण्डारीले बताए । 

साना तथा ठूला सवारीसाधनको चाप बढ्दा जोखिम मोलेर सवारी चलाउनुपर्ने बाध्यता रहेको छ । ‘सडकमा जताततै खाल्डाखुल्डी छन् । केही ठाउँमा सडक भत्केका पनि छन् । साँघुरा सडकमा खाल्डाखुल्डी हुँदा साइड दिन पनि समस्या हुने गरेको छ,’ भण्डारीले भने ।

साँघुरा सडक जताततै खाल्डाखुल्डी तथा भत्किएको र सवारी चाप पनि बढ्दा दुर्घटनाको जोखिम बढेको छ । उनले भने, ‘साँघुरा सडक त्यसैमा जताततै खाल्डाखुल्डी छन् । अरु गाडीलाई साइड दिन पनि समस्या हुन्छ ।’  

बर्सातको समय सुरु भएकाले यस्ता सडकले झन दुर्घटनाको जोखिम बढाएको ट्रक चालक वलदेव भट्टले बताए । ‘पहाडको सडकमा लोड गाडी चलाउन धेरै अप्ठ्यारो छ । बर्सातको समयमा त झन् समस्या हुन्छ । सवारी चाप र साँघुरो सडक, त्यसमा पनि खाल्डाखुल्डी र भत्केको हुँदा दुर्घटनाको जोखिम छ । साइड दिन पनि अप्ठ्यारो छ । दैनिकजसो दुर्घटना भइरहेका हुन्छन् । खराब र साँघुरो सडकका कारणले हो,’ उनले भने ।



वर्षौँ पहिले बनेका पहाडी राजमार्गमा सवारी चाप उत्तिकै बढेका छन् । सरकारले बर्सातको समयमा आउने पहिरो पन्छाउने तथा सामान्य टुटेफुटेका सडकको मर्मत त गर्ने गरेको छ तर साँघुरा सडकलाई चौडा बनाउने योजना भने छैन ।

बर्सातको समयमा आउने पहिराका कारण अवरुद्ध सडकलाई तुरुन्तै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने गरिएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताए । ‘बर्सातका कारण पहिरो आएको छ भने तुरुन्तै सफा गरिन्छ । सडकमा भत्किएका दायाँ–बायाँका संरचना तथा भित्ता मर्मत गरिन्छ । तर आर्थिक अभावका कारण अहिले नै थप स्तरोन्नति गर्न सक्ने अवस्था छैन,’ उनले भने । 



सडकमा परेका खाल्डाखुल्डी पुर्ने तथा बिग्रे–भत्केका सडकको मर्मत गरिने भए पनि बजेट अभावका कारण सडकको चौडाइ बढाउने कार्यमा समस्या भइरहेको प्रमुख लामिछानेको भनाइ छ । रासस 

  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार २२:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया