युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव कार्यक्रमको पूर्व सन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रूपान्तरण अभियान अघि आउन जरुरी छ । परिणामतः नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामी जस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तर आधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता हो ।’

प्रधानमन्त्री दाहालले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै अपेक्षित सफलता हासिल गर्न सक्ने बताए । उनले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सीमित हुन नहुने बताए । उनले सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रूपान्तरण अभियान अघि आउन जरुरी रहेको बताए ।

उनले भने, ‘नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य कलालाई साहित्य चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै हामीले अपेक्षित सफलता हासिल गर्न सक्नेछौँ । अबको सिर्जना, अबको अनुसन्धान केवल परम्परा धान्नेमा मात्रै सीमित हुनु हुँदैन । यथास्थितिवादी सौन्दर्य चेतनाले मात्रै अब पुग्ने स्थिति पनि छैन । आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन आएको छ ।’ 

प्रधानमन्त्री दाहालले आजको युगिन सभ्यतालाई संस्थागत गर्न सरकारले नयाँ प्रज्ञा परिषद् तथा प्राज्ञ सभाको गठन गरेको बताए । 





  • प्रकाशित मिति : असार ९, २०८० शनिबार १४:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया