बिपी संग्रहालयमा 'राजद्रोही राजनेता' वृत्तचित्र

‘राजद्रोही राजनेता’ वृत्तचित्र बिपी संग्रहालय सुन्दरीजलमा प्रदर्शनी गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसन, अन्वेषण न्यूज डटकम र बिपी संग्रहालयको आयोजनामा वृत्तचित्र प्रदर्शनी गरिएको हो । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरी बिपी फाउण्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री  डा. सशांक कोइरालाले कार्यक्रम शुभारम्भ गरेका थिए । विसं २०३३ पुस १६ गतेदेखि विसं २०३६ मा जनमतसंग्रहको घोषणासम्मका बिपी कोइरालाका केही महत्वपूर्ण गतिविधि वृत्तचित्रमा समेटिएको छ ।

वृत्तचित्र अवलोकन गर्न पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र तारणीदत्त चटौत, बाग्मती प्रदेशका पूर्वप्रमुख अनुराधा कोइरालालगायत वरिष्ठ पत्रकार तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व सहभागी थिए । अवलोकनपछि प्रतिक्रिया दिँदै वरिष्ठ पत्रकार किशोर नेपालले बिपीका विषयमा समग्र जीवनी झल्कने वृत्तचित्रको आवश्यकता रहेको बताए । 

कार्यक्रममा फाउण्डेशनका सदस्य सचिव अतुल कोइराला, अन्वेषण न्यूज डटकमका प्रधानसम्पादक जगत नेपाल र संग्रहालय समितिका अध्यक्ष परशुराम पोख्रेलले वृत्तचित्रमा समेटिएका घटना क्रमकाबारेमा जानकारी गराएका थिए । 

विसं २०१७ पुस १ गते राजनीतिक घटनापछि बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत नेतालाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा नेताहरुलाई जेलमुक्त गरिएको थियो भने विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएका बिपीलगायतका नेतालाई विमानस्थलबाटै पक्राउ गरी फेरि सुन्दरीजल लगिएको थियो ।



बिपीलाई करिब १० बर्ष बन्दी बनाइएको बन्दीगृहलाई सरकारले ०६१ भदौ २४ गते बिपी जयन्तीका अवसरमा संग्रहालयमा रुपान्तरण गरेको थियो ।



  • प्रकाशित मिति : असार ९, २०८० शनिबार १९:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया