बजेट पारित भएपछि सिके राउतले भने- विरोध गर्नु सांसदको नौटङ्की हो,  संसद् नाटक घर मात्रै हो
फाइल तस्बिर

यही १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेस गरेको बजेट आज बुधबार बहुमतले पारित भएपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले त्यसको आलोचना गरेका छन् । उनले सांसदहरूको विरोध जनतालाई झुक्याउनलाई गरिएको नौटङ्की भएको र संसद् नभएर नाटक घर मात्रै भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखका छन्, ‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरिब विरोधी घोर असमान बजेटलाई, ताली पड्काएर सांसदहरूले आफैँले पारित गरे ।  जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसदहरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेस र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसदको मर्यादा रहनेथ्यो । तर दुर्भाग्य... सांसदहरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटङ्की न हो। यो संसद् नभएर नाटक घर मात्रै हो ।’

उनले जनमत पार्टी आफ्नो सिद्धान्तमा अडिक रहने उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘सिद्धान्तको राजनीति सार्‍है महँगो हुन्छ - योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ। तैपनि ढुक्क हुनुहोस्, जनमत पार्टी जनतासँग उभिरहने छ, आफ्नो सिद्धान्तमा अडिग रहनेछ।’ 





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १८:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया