विश्वासको मत माग्दै मुख्यमन्त्री कार्की, पद जोगिने सम्भावना न्यून
नयाँ नेतृत्वका लागि गठन्धनमा अन्योल

अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेका हुन् ।   

आजको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसबन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्नेलगायत सम्भावित कार्यसूची रहेका छन् ।

त्यसअघि बिहान ११ बजे बोलाइएको कार्य व्यवस्था परामर्श समितिले बैठकको कार्यसूचीको अन्तिम टुंगो लगाउनेछ  । एमालेबाट निर्वाचित मुख्यमन्त्री कार्कीले आजको  प्रदेश सभा बैठकमा विश्वासको मत पाउने समीकरण छैन ।  

९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ जनाको मात्र कार्कीलाई समर्थन छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ जना छन्  ।  

विश्वासको मत प्राप्तका लागि मुख्यमन्त्री कार्कीलाई गठबन्धन दलका दुई प्रदेश सांसदको साथ पाउन आवश्यक छ । तर, उनको चाहना पूरा हुने सम्भावना न्यून छ । गठबन्धन दलले आफ्ना हरेक प्रदेश सांसदमाथि निगरानी बढाएका छन् । 

विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक बस्नु अगाडिसम्म प्रयास गरिने एमालेका उपनेता रामबहादुर मगरले जानकारी दिए । मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोज यादवलाई एमालेले विश्वासको मत दिएकाले उक्त पार्टीले कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एमालेको विश्वास छ ।  



मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए नयाँ सरकार नेतृत्व कसले गर्ने भन्ने गठबन्धनमा अन्योल छ  । कांग्रेस र माओवादी आलोपालो नेतृत्व लिनुपर्ने पक्षमा छन् ।  

कांग्रेस र माओवादी दुवै दलले आ–आफ्नो पार्टीका शीर्ष नेताहरूलाई सरकारको नेतृत्वका लागि दबाब दिइरहेका छन्  ।  



  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार ९:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया