क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार

कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही ५० हजार रुपैयाँ पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आयोजित एक खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी खेलाडी सम्मान गरेका हुन् । च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद ५० हजार रुपैयाँका दरले पुरस्कार रकम प्राप्त गरे ।

गण्डकीको च्याम्पियन टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार र अरबिना अधिकारी रहेका थिए । 

यसैगरी अन्य खेलाडीमा निरु जिटी, सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रिती पराजुली तथा टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापन एलिशा लामिछाने रहेका थिए । यसअघि सरकारले विजेता खेलाडीलाई भोलिपल्ट अर्थ मन्त्रालयमा सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेको थियो तर खेलाडीले घोषित पुरस्कार लामो समयसम्म प्राप्त गर्न सकेका थिएनन् । गण्डकी प्रदेश क्रिकेट सङ्घ, कास्की जिल्ला क्रिकेट सङ्घ तथा खेलाडीले घोषित पुरस्कारका लागि निरन्तर सरकारसँग माग गर्दै आएका थिए ।

तत्कालीन युवा तथा खेलकुद मन्त्रालयबाट पुरस्कार रकमका लागि फाइल अघि बढ्न नसकेको भन्दै खेलाडी नगद पुरस्कार पाउन वञ्चित भएका थिए । नयाँ सरकार गठनसँगै पुरस्कारबापतको रकम निकासाका लागि प्रक्रिया अघि बढाइएको थियो । पुरस्कारबापतको रकम खेलाडीको व्यक्तिगत बैंक खातामार्फत पठाइएको मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए । 



खेलाडीलाई सम्मान गर्दै मन्त्री सिंखडाले क्रिकेट खेलाडीलाई सम्मान गर्ने विषयमा आफूले संसद्मा समेत प्रतिबद्धता जनाएको जनाए । खेलकुद विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै पोखरा रङ्गशालामा योगका कार्यक्रमसमेत सञ्चालन गर्ने जानकारी दिए ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले आगामी दिनमा परिषद्ले विभिन्न जिल्लामा प्रतियोगिता सञ्चालन गरिने बताए । खेलकुदका विभिन्न कार्यक्रमलाई जोड्दै दशौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने गरी योजना रहेको उनले उल्लेख गरे । 



  • प्रकाशित मिति : असार २३, २०८० शनिबार ११:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया