उन्नाइस विद्यालयका प्रअले दिए सामूहिक राजीनामा

मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् । 

प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ । ‘सहमतिविपरीतको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामा पत्रमा उल्लेख छ ।

विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विनाकारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको बताइएको छ । एक प्रअका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन् । 

यता, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए । शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको उनले दाबी गरे । 

‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिनअगाडिको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ । प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ । उहाँहरुले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ,’ अध्यक्ष कालाखेतीले स्पष्ट पारे । 

पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए । 



‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ । यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो । सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ । तर, कसैले मान्दिनँ भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ,’ अध्यक्ष कालाखेतीले भने । 



  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार २२:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया