स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : भदौ र असोजमा डेंगु संक्रमण उच्च हुने

स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । नेपालमा पहिलोपटक सन् २००४ मा एकजनामा डेंगु संक्रमण देखिएको थियो । 

एक वर्षको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगु संक्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए । 

उनका अनुसार असोजपछि भने डेंगु संक्रमण क्रमशः कम हुँदै जानेछ । वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि डेंगु संक्रमण ह्वात्तै बढेको उनले बताए । गत वर्ष पनि वैशाखदेखि नै डेंगु संक्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च संक्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो ।

‘बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि डेंगु संक्रमण बढ्दै गएको छ,’ उनले भने, ‘निरन्तरको वर्षा र पानीले डेंगु संक्रमण अझै बढ्ने जोखिम छ ।’ 

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ ।

महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ डेंगु संक्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा सो संख्या बढेर दुई हजार नौ सय ३० पुगेको छ । महाशाखाका निर्देशक डा. मरासिनीले कार्ययोजनाअनुसार डेंग रोकथाम र नियन्त्रणका लागि सघ, प्रदेश र स्थानीय तहको सरकारका साथै अस्पताललाई निर्देशन दिइसकेको जानकारी दिए । 



कार्ययोजनाअनुसार लामखुट्टे नियन्त्रणका लागि भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा र सञ्चार निकायसँग समन्वय गरिनेछ । यस्तै, लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ ।

वर्षायामसँगै डेंगु रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थान प्रचुर मात्रामा हुने हुँदा बहुपक्षीय समन्वय र सहकार्यविना लामखुट्टे नियन्त्रण गर्न कठिन हुने, डेंगु पहिचानका लागि आवश्यक डेंगुु किटको अभाव, लामखुट्टेको निगरानी गर्न इन्टोमोलोविष्ट तथा आर्थिक स्रोतको अभाव, स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको उल्लेख गरिएको छ ।



महाशाखाले डेंगु रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ । कार्ययोजनामा डेंगु सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने पनि उल्लेख गरिएको छ ।

यसैगरी जोखिम नक्सांकन तथा हट–स्पट पहिचान गर्ने, डेंगु सेरोटाइपको पहिचान, लामखुट्टेमा डेंगु भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेंगु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेंगु रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्नेसमेत कार्ययोजनमा उल्लेख छ ।

गत वर्ष ५५ हजारभन्दा बढीलाई डेंगु संक्रमण र ८८ जनाको संक्रमणको कारणले निधन भएको थियो । डेंगु संक्रमणबाट मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मृत्यु ५५ वर्ष वा सोभन्दा बढी उमेर समूहका रहेको पाइएको छ । मृत्यु भएका व्यक्तिमा डेंगु सँगै निमोनिया, स्क्रबटाइफसलगायतका संक्रमणसमेत पाइएको छ ।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार २३:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया