म गृहमन्त्री हुँदासम्म सुन काण्ड भएको थिएन, पछि उब्जाइएको हो : वामदेव गौतम
‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन’

पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता नहुने दाबी गरेका छन् । शनिबार काठमाडौमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करी, बलात्कार, हत्याहिंसाजस्ता अपराधमा राजनीतिक संलग्नता नहुने दाबी गरेका हुन् । 

यस्ता अपराधलाई राजनीतिसँग जोड्नु गलत भएको उनको दाबी छ । ‘कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिस मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ?, गौतमले प्रश्न गर्दै भने, ‘सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ । हरेक दलका नेताहरु त्यहाँ उपस्थित भएका छन् ? कमचारी मात्रै उपस्थित छन् । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि !’

उनले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गरे । उनले आफू ०५४ सालमा गृहमन्त्री हुँदासम्म सुन काण्ड नभएको तर पछि उब्जिएको उनको भनाइ थियो । ‘म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाइए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला सात महिना मात्रै मन्त्री भएको हुँ,’ उनले भने ।

पछिल्लो सुन काण्डबारे बोल्दै गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको बताए । संसारका विमानस्थलहरुमा प्रमुख रुपमा सेना खटिने, त्यसपछि प्रहरी र अरु धेरै संस्था संलग्न हुने बताए । ‘हाम्रो देशमा सेना बाहिरबाट सुरक्षामा बस्छ, भित्रैबाट बसेर काम गर्ने नेपाल प्रहरीले गर्छ । सुरक्षासम्बन्धी जाँचबुझ गर्छ । भन्सारसम्बन्धी हेर्ने सुरक्षाले होइन,’ उनले पस्ट्याउँदै भने,  ‘भन्सारले माग गर्यो भने सुरक्षा निकाय त्यहाँ खट्नुपर्छ । विदेशबाट आउने सामान वा किनेर ल्याउने होस वा कसैले उपहार दिएर ल्याएको होस, त्यो सबै भन्सारमा जान्छ ।’

नेपाल प्रहरीले भन्सारबाट छुटेर बाहिर आइसकेका त्यस्ता, भन्सार छल्नेहरुलाई पक्रिएर कारबाही गरेको उनले सुनाए । प्रहरी भन्सारभित्रै प्रवेश गर्न नपाउनले उनको भनाइ छ । उनले भने, ‘प्रहरी र अरु निकायको आ–आफ्नो कार्यक्षेत्र हुन्छ । सामान ल्याउने र लैजाने जति पनि काम छन्, ती काम भन्सारबाटै हुन्छ ।’





  • प्रकाशित मिति : साउन ६, २०८० शनिबार १७:०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया