वामदेव गौतमको आह्वान : सबै कम्युनिष्ट एकतावद्ध हौँ

पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।  

आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक/दुईवटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए ।  

गौतमले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरू मिलेर मात्र सम्भव रहेको बताए । उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्ट एउटा मोर्चामा आउन जरुरी रहेको बताए । 

‘सबै कम्युनिष्टहरू एकतामा आऔँ । मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ । नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवाद, कृषि, उद्योग धन्दाको क्षेत्रबाट कहाँबाट सुरु गर्न सकिन्छ, सामाजिकरूपबाट, सामाजिकसहतिको उत्पादनका साधनमाथि जति सकिन्छ त्यति क्षेत्रबाट ठोस कार्यक्रमका साथ हामी सबै लागौँ,’ गौतमले भने । 

उनले समाजवादी मोर्चामा दुई/तीन वटा पार्टी मात्रै नभइ नेकपा एमाले, मोहन वैद्यलगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए ।   

‘हामीले पनि त्यो संविधान बन्दा अनेकौं समस्या झेलेर हामीले राखेको लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवाद हामीले राखेर, कम्युनिष्टहरूको समाजवाद प्राप्तिको निम्ति एउटा मोर्चामा आबद्ध हुनुपर्छ । जसको लागि प्रचण्ड, कमरेड माधव नेपाल र अरू मिलेर सुरु गर्नु भएको छ, राम्रो काम गर्नुभएको छ तर दुई तीन वटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नुस्,’ गौतमले भने ।   



उनले पुष्पलालले देखेको सपना साकार पार्न कम्युनिष्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने बताए । 

‘सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ । मैले प्रचण्डलाई भने, कमरेड यसमा सबैलाई जोड्नुपर्छ । नेकपा एमालेका अध्यक्ष र सबैजना, मोहन वैद्यलाई पनि पत्राचार गर्नुस्, नेकपा (माओवादी केन्द्र) बाट फुटेकालाई पनि आबद्ध गर्नेगरी आज आवश्यकता छ, समाजवादको । समाजवाद नै निर्माण गर्ने हो, जति सकिन्छ त्यत्ति सामाजिक उत्पादनका लागौँ । पुनः कम्युनिष्टहरू एक ठाउँमा हुनुपर्छ । कमरेड पुष्पलालले भन्नुभएको, देख्नुभएको सपना साकार पार्ने हो भने पहिलाकै बाटोमा जानुपर्छ । जसरी पनि त्यो लागू गर्नुपर्छ,’ गौतमले भने ।  



  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १०:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया