रगतको माग बढ्यो, संकलन घट्यो

देशभर वर्षायाम सुरु भएसँगै रगत संकलन कम हुन थालेको छ । रगत संकलन र आपुर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मंसिर महिनासम्म मानिसहरु खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुन्छ । 

वर्षातको समय सुरु भएदेखि मंसिर/पुससम्म दैनिक करिब आठ सय युनिटमात्रै रगत संकलन हुने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताए । उनले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत संकलन हुने गरेको जानकारी लिए । 

केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९/८० मा ३३ हजार चार सय ८५ युनिट रगत संकलन भएको थियो । निर्देशक पौडेलले सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको बताए । पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको र गत वर्षहरूको तथ्याङ्क हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताए । 

देशभर १२० वटा रक्त सञ्चार सेवा रहेको र हाल देशभर २ लाख ६२ हजार ४ सय ८१ नियमित रक्तदाता रहेका छन् । निर्देशक पौडेलले नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको जनाए । उनका अनुसार कुल जनसंख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव हुँदैन । नेपालका रक्तदाताहरुको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउनसके चाहिएको बेला रगत दिन सकिने उनको भनाइ छ । यसका साथै १८ वर्ष उमेर पुगेपछि ‘जन्मदिन महोत्सव, रक्तदान गरेर मनाऔ’ भन्ने अभियानलाई पनि अघि उनको भनाइ छ ।

‘रगतको माग र आपूर्ति सिजन अनुसार हुन्छ । वर्षाको मौसम सुरु भएपछि धेरै मानिसहरु खेतिपातीमा लाग्ने भएकाले रगत संकलन कम हुन्छ । चाड पर्वको समयमा पनि रगत संकलन न्यून हुन्छ । मंसिर/पुसदेखि साउनसम्म बढी मात्रामा रगत संकलन हुन्छ,’ उनले भने । 

निर्देशक पौडेलका अनुसार मंसिरदेखि पुसमा अस्पतालहरुबाट रगतको माग धेरै आइरहेको हुन्छ । विशेषगरी कोभिड, डेंङ्गीको अवस्थामा विशेष किसिमको प्रोडक्ट आवश्यक पर्छ । त्यस्तो बेलामा केन्द्रिय रक्त सञ्चार सेवाले रक्तदानका लागि विशेष आह्वान पनि गर्छ । गत वर्षहरुको तथ्याङ्क हेर्ने हो भने नेपालमा दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्छ । त्यो भनेको वर्षको चार लाख ५० हजार युनिट रगत आवश्यकता पर्ने हो  । नेपाल रेडक्रस सोसाइटीले मागको ९० प्रतिशत बढि रगत आपूर्ती गरिरहेको छ । 



केन्द्रिय रक्त सञ्चार सेवासँगै प्रादेशिकस्तरमा पाँच वटा रक्त सञ्चार सेवा छन् । नेपालगञ्ज, धनगढी, पोखरा, विराटनगर र चितवनमा सेवा उपलब्ध गराउँदै आएको छ । जिल्लास्तरमा २४ वटा रक्त सञ्चार सेवा छन् । समग्रमा एक सय वटा संकलन केन्द्र रक्त सञ्चार सेवाले व्यवस्थापन गरिरहेको छ । 

केन्द्रिय रक्त सञ्चार सेवाका अनुसार रगतको कति माग हुन्छ भन्न सकिँदैन । गत वर्षहरुको ट्रेण्ड हेरेर विचार गरिन्छ । नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिकले नियमित रक्तदान गर्छन् । एक वर्षमा चार पटक रक्तदान गर्न मिल्छ । कतिपयले एक पटक वा दुई पटक रक्तदान गरिरहेका छन् । रक्तदान गर्नेहरुको संख्या बढाउनु पर्ने निर्देशक पौडेलको भनाइ छ । 



निर्देशक पौडेलले पाठ्यक्रममै रक्तदानलाई प्रवद्र्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने बताउँछन् । उनले संघ र प्रदेश सरकारले विपन्नहरुलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रवन्ध मिलाउनुपर्ने जनाए । ‘रक्तदाताका लागि रक्तदाता हुँ भनेर गर्व गर्न लायक प्याकेज ल्याउनुपर्छ,’ निर्देशक पौडेलले भने । 

पछिल्लो तथ्याङ्क अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार एक सय ७० युनिट रगत संकलनमा ३ लाख ५२ हजार ९१९ युनिट रगत वितरण भएको छ । 

  • प्रकाशित मिति : साउन ८, २०८० साेमबार १७:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया