लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
फाइल तस्बिर

रूपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रूपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । 

भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचनाअनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको र यो क्रम बढ्दो रहेको छ । 

त्यसैले बाढीको उच्च जोखिम हुने स्थान तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानका बासिन्दालाई  अपरान्हसम्म  सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएको छ । नदी तटीय क्षेत्रमा बसोवास गर्ने तथा यात्रामा निस्किनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा आज बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ । 

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताए । नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ ।

यस्तै जिल्लाको सैनामैना–८ रामापुरमा डुबानमा परेको स्थानीय शङ्खमुनि थारूको घर र सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको छ । स्थानीय इनगुरिया नदीमा आएको बाढीले घर तथा प्रतिष्ठानको भवन डुबाएको हो । 



सैनामैना–८ का वडाध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोली र स्थानीय संयुक्तरूपमा उद्धारमा जुटेका छन् । हालसम्म कुनै मानवीय क्षति नभएको स्थानीय नागरिक अगुवा लेखनाथ गैरेले जानकारी दिए । 

यसैगरी भारी वर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको जनाउँदै सतर्क रहन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबई नदीलगायत अन्य खोलाको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो । 



दाङको बगासोगी, लालमटिया, घोराही, शुक्रबारे, भालुवाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ । दाङ र प्यूठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको हो ।

वर्षाका कारण मुख्य सडक अवरुद्ध 

अबिरल वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्यूठानलगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिङ्गे–सन्धिखर्क र भालुवाङ–प्यूठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल–पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।

यस्तै, अर्घाखाँचीको शीतगङ्गा–१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिङ्गे–सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ । प्यूठानको माण्डवी–१ गर्जेनीमा पहिरो खस्दा भालुपाङ–प्यूठान सडक अवरुद्ध भएको छ । रासस  

  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १०:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया