लम्पीस्किन महामारीका कारण ८० प्रतिशत पशु संक्रमित

गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् । भक्तपुरको चारवटा नगरापालिकामध्ये लम्पी स्किन रोग प्रकोपका कारण सबैभन्दा धेरै प्रभावित बनेको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका हुन् । 

उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका छन् । नगरपालिकाका पशुविकास अधिकृत खड्ककुमार मैनालीका अनुसार गाई भैंसीको मुत्युदर लिखित डाटामा कम भए पनि गाउँ घरमा जाँदा ठूलो संख्यामा रहेको देखिएको छ । उनले यो संक्रमणको असर आगामी वर्षमा गाई भैँसीहरुमा गर्भाधारण नभई उल्टी रहने बाँझोपनको समस्या आउन सक्ने भन्दै सचेत हुन आग्रह गरे । 

यस्तै, नगरपालिकाभित्र ठूलो संख्यामा गाईको क्षति भएको बताउँदै किसानहरुलाई राहत उपलब्ध गराउने विषयामा प्रदेश सरकार, विज्ञ केन्द्र र पशु सेवा विभागलाई अनुरोध गर्दै पत्र लेखेका जानकारी समेत गराए । 

चाँगुनारायण नगरपालिकाका नौवटै वडामा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदा पशुचौपायाको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले महामारीको नियन्त्रणका लागि घुम्ती सेवा सुचारु गरेको छ । घुम्ती सेवामार्फत किसानलाई परामर्श दिनुका साथै तथ्यांक संकलन र निःशुल्क औषधि वितरणको काम भइरहेको छ । 

सोक्रममा चाँगुनारायण नगरपालिका पशुपंक्षी विकास शाखाका डा. सौरभ गैलालले पशुपालन क्षेत्रमा रोग भित्रिन नदिन व्यवस्थापन, प्रजनन, आहरा तथा स्वास्थ्यका क्षेत्रहरूमा असल पशुपालन अभ्यासको विकास गर्दै लैजानुपर्नेमा जोड दिए । लम्पी स्किन रोग लागेका गाई भैंसीको दुध खान हुन्छ वा हुन्न भन्ने किसानहरुको ठूलो प्रश्न रहेको भन्दै उनले ढुक्क भएर खान अनुरोध गरे । संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक प्रयोग भएको गाई भैंसीमा भने सात दिनसम्म दुध खान नहुने उनको भनाइ छ ।

नगरपालिकाका पीडित किसानहरुले भने नगरपलिका भित्र वितरण हुने औषधि भनसुनका आधारमा पहुँचवाला व्यक्तिका घर परिवारलाई मात्र वितरण हुने गरेको तथा पशु चिकित्सकहरु पनि दरवन्दी अनुसार उपलब्ध नभएको लगाएका गुनासो गरेका थिए ।



पछिल्लो तथ्यांक नुसार लम्पीबाट ७७ जिल्ला नै प्रभावित भएको छ भने आठ लाखभन्दा बढी पशु संक्रमित भइसकेका तथा २७ हजारभन्दा बढी पशुको मृत्यु भइसकेको छ । नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार ३८ अर्बभन्दा बढी रुपैयाँको आर्थिक क्षति भइसकेको छ । 

उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिँगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ । हाल भने उक्त महामारी केही हदसम्म कम हुँदै गएको विज्ञहरुको भनाइ छ ।



  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार २०:४१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया