नेपालको संसदमा संसारमा नभएको दृश्य देखिँदैछ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको आरोप लगाएका छन् । 

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले नेपालको संसदमा अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको आरोप लगाएका हुन् । 

‘नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो । अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ । त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनै पनि संसदमा त्यस्तो हुँदैन,’ गौतमले भने, ‘परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गालीगलौज र अपमान गर्ने अरूलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ ।’  

उनले सांसद संसदको नियमावलीलाई बेवास्ता गरी जथाभाबीरूपमा उठेर बोल्ने गरेको पनि बताए । 

‘एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ । कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसदभित्रको असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ,’ गौतमले भने, ‘हामीले पुरानो संसद परित्याग गरेर नयाँ संसद बनाएका छौँ । यसलाई समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएको हुनाले यो संसद पहिलो होइन । भन्ने गरेका छौँ । पहिलको भन्दा खराब रूपमा तल झरेर संस्कृतिहीन भइसक्यो । सुशासनभित्र यो कुरा पर्छ कि पर्दैन ?’ 

गौतमले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलको भन्दा खराबरूपमा तल झरेर संस्कृतिहीन भएको बताए । पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे ।      



‘कुनै पनि पार्टीले सांसदहरूलाई लगाएर संसदको गतिविधि अवरोध गर्न पाइँदैन । संसद अवरोध गर्ने विषय नियमावलीमा छैन । सांसदहरूले आफ्नो विचार व्यक्त गर्ने हो,’ गौतमले भने, ‘पार्टीहरूले कार्यव्यवस्था समितिमा मिलाउनुपर्छ । उद्देश्यमूलक ढङ्गले संसद चल्न नदिने किसिमको भएको छ । यसलाई पनि सदाचारमा ल्याउन सक्नुपर्छ ।’

उनले कुनै पनि पार्टीले सांसदलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए । गौतमले सांसदले संसद आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताए ।   
 



  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार १५:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया