पशुपक्षी रोग अन्वेषण प्रयोगशालाको बजेट शून्य, सेवा प्रवाह बन्द

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सेवा प्रवाह आजदेखि बन्द गरिएको छ । सरकारले चालू वर्षमा यो कार्यालयका लागि शून्य बजेट विनियोजन गरेपछि कार्यालयले दिँदै आएको सेवा बन्द गर्नुपरेको कार्यालयका प्रमुख डा. नरेश जोशीले बताए । 

नेपाल सरकारले आर्थिक वर्ष ०८०–८१ को बजेट वक्तव्यमा कृषि तथा पशुसम्बन्धी प्रयोगशाला, फर्म केन्द्र र स्रोत केन्द्रलाई प्रदेशमा हस्तान्तरण गर्ने भनी उल्लेख भई पशुसेवा विभागअन्तर्गतका केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालयलगायत अत्यावश्यक सेवा पुर्याउने निकायको बजेट विनियोजन शून्य पारेको बताइएको छ । 

‘कार्यालयमा पानी पिउन, मास्क लगाउन, किट खरिद गर्न पाउनेसम्मको बजेट छैन,’ डा. जोशीले प्रश्न गरे,‘पशुजन्य रोगको महामारी फैलिएको अहिलेको अवस्थामा कार्यालयको बजेट शून्यमा झारेर के गर्न खोजिएको हो ?’
  
पशुपक्षीका विभिन्न महामारीजन्य रोगको अन्वेषण र निदानका लागि किसानलाई सेवा प्रवाह गर्दै आएको सुदूरपश्चिम प्रदेशको एक मात्र यो कार्यालयको बजेट शून्यमा झारेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको कर्मचारीले बताएका छन् । यो कार्यालयमा १४ कर्मचारी कार्यरत छन् । 
 
कार्यालयका अर्का एक कर्मचारीले भने, ‘आवश्यक बजेट अभावमा कार्यालयको सेवा नचाहँदा नचाहँदै पनि बन्द गर्नुपरेको छ, यसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई गराएका छौँ ।’





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार २१:४९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया