सुनसरीमा दादुराको खोप अभियान चलाइँदै
फाइल तस्बिर

सुनसरीमा आजबाट दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइने भएको छ । विशेष अभियानअन्तर्गत सुनसरीमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।       

महामारीका रूपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा विशेष खोप अभियान सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अभियानबारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक बोलाएर जानकारी गराएको छ । 

बैठकमा दिइएको जानकारीअनुसार खोप अभियान सुनसरीको बर्जु गाउँपालिकाबाहेकका अन्य ११ वटा स्थानीय तहमा सञ्चालन हुनेछ । 

बर्जु गाउँपालिकामा भने फागुनमा महामारीका रूपमा दादुरा फैलिएलगत्तै आकस्मिक खोप अभियान चलाइएकाले विशेष अभियानमा बर्जुबाहेकका अन्य स्थानीय तहमा खोप कार्यक्रम चलाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए ।

उनका अनुसार नेपाल सरकारको निर्णय बमोजिम दादुरा महामारी देखिएका ९ जिल्लाको हकमा विशेष खोप अभियान सञ्चालन हुन लागेको हो । सोहीअनुरूप सुनसरीमा समेत अभियान चलाउन लागिएको बताए ।

स्वास्थ्य कार्यालय सुनसरीले विशेष खोप अभियान विद्यालयमा केन्द्रित हुने जनाएको छ । पालिकामा रहेका सबै विद्यालयलाई केन्द्र बनाएर खोप लगाउने अभियानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २२, २०८० साेमबार १०:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया