धवलागिरि अस्पतालमा अब सिटी स्क्यान सेवा

धवलागिरि अस्पताल बागलुङमा सिटी स्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । पोखरा बाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो । यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुनेछ ।
 
गण्डकी प्रदेश सरकारले धवलागिरि अस्पतालमा सिटीस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९/०८० मा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । धवलागिरि अस्पतालले ‘ग्लोबल टेन्डर’मार्फत खरिद गरेको सिटीस्क्यान उपकरण अस्पतालमा आइपुगेको छ ।

विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले सिटीस्क्यान सेवा थप गर्न थालिएको धवलागिरि अस्पताल बागलुङले जनाएको छ । अस्पतालमा अहिले १८ विशेषज्ञ चिकित्सकद्वारा विभिन्न विभागीयरूपमै विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छन् । अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने योजनाअन्तर्गत उपकरण थप गरेको हो ।
 
पछिल्लो समय धवलागिरि अस्पतालले दैनिक चार सयदेखि ५ सय बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएकामा सिटीस्क्यान गर्न र जटिल प्रकारका समस्यालाई मात्र पोखरा सिफारिस गर्नुपर्ने अवस्थामा सिटीस्क्यान सेवा सुरु भएपछि सिफारिस दर अझै घटेर जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविरन्जन प्रधानले जानकारी दिए । 
 
‘गण्डकी प्रदेश बाहिरको सरकारी अस्पतालमा पहिलो सिटी स्क्यान सेवा प्रदान गर्ने अवस्थामा पुगेका छौँ, सिटी स्क्यान उपकरण भित्रिएको छ, अस्पतालले ग्लोबल टेन्डरमार्फत चीनबाट उपकरण भित्र्याएको हो,’ उनले भने, ‘अब सिटी स्क्यान गर्न पोखरा, काठमाडौं जानु पर्दैन, एक महिनाभित्रै सिटीस्क्यान सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक काममा लागेका छौँ ।’ अहिले उपकरण जडानकार्यको आवश्यक तयारी भइरहेको छ ।

प्रमुख डा. प्रधानका अनुसार अस्पतालमा भइरहेको जनशक्तिलाई तालिम प्रदान गरेर सेवा सञ्चालन गर्ने बताउँदै आवश्यक जनशक्तिको व्यवस्थापनका लागि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको छ । अस्पतालमै रेडियोलोजिस्ट भएकाले सेवा सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । 

लामो समयको प्रयासपछि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश राजधानी बाहिर सिटी स्क्यान राख्न सफल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । १८ विशेषज्ञ र ११औँ तहका तीन चिकित्सक भएको र रेडियोलोजिस्ट विशेषज्ञ चिकित्सक भएको अस्पतालमा सिटीस्क्यान सेवा हुनु भनेको धवलागिरिवासीका लागि सुखद् कुरा भएको शर्माको भनाइ छ । 

१८ विशेषज्ञ, १० मेडिकल अधिकृतबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले चिकित्सक थपिँदा अस्पतालमा उपचारका लागि आउने नागकिलाई पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सहज भइरहेको छ । रासस 





  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार ८:५०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया