भरतपुर अस्पतालको जग्गा बाँडेर सकियो, सडकमा पार्किङ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चितवनको सरकारी भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि पार्किङ अभाव भएको छ । अस्पतालको जग्गामा पार्किङ साँघुरो भएपछि सडकमा पार्किङ गर्न थालिएको हो ।

भरतपुर अस्पतालको ३० बिघा ११ कट्ठा ६ धुर जग्गामध्ये अहिले अस्पतालसँग १२ बिघा मात्रै बाँकी छ । अस्पतालबाहिर झन्डै ५ सय मिटर लामो सडकमा मोटरसाइकल र गाडी पार्किङ गर्ने गरिएको छ । यसबाट दिनभर अस्पताल अगाडिको सडक क्षेत्रमा भीडभाड हुने गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पताल परिसरमा ठाउँ अभावका कारण पार्किङ व्यवस्थापन गर्न नसकिएको बताए । अस्पतालको पूर्वतर्फ भने बाइपास सडकसँगैको भागमा अस्पतालको जग्गा खाली रहेको छ ।

पौडेलले पार्किङका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराएर छलफल भइरहेको बताए । उनले भने, ‘अस्पतालको जग्गा बाँडेर र भाडामा लगाएर सकिएकाले पार्किङको समस्या भएको हो ।’

कर्मचारीबाहेक अन्यलाई अस्पतालले पार्किङको व्यवस्था गर्नसकेको छैन । भर्ना भएका बिरामी कुरुवाको पार्किङ भने पूर्ववत् अवस्थामा सञ्चालनमा छ । गएको आइतबार बहिरङ्ग सेवा लिन २ हजार १ सय ७५ जना आएका थिए ।

अघिल्लो आइतबार यो सङ्ख्या २ हजार दुई सय ८९ थियो । बिरामीसँगै अन्य साथीसमेत आउने भएकाले अस्पतालमा भीड बढ्ने गर्दछ । बीमाको प्रथम विन्दु भरतपुर अस्पताल भएकाले बिरामीको चाप बढ्दो छ ।



भरतपुर अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेसलाई भाडामा लगाइएको छ । यसैगरी स्कुल अफ हेल्थ साइन्स, नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार कार्यालय, स्वास्थ्य कार्यालय चितवन, नगर टोल विकास संस्थालाई प्रयोगका लागि दिइएको छ । साझा औषधि पसलले पनि जग्गा उपभोग गरेको छ ।

अस्पतालकै नाममा लालपुर्जा भएको जग्गा भरतपुर आँखा अस्पतालले समेत प्रयोग गरेको छ । आँखा अस्पतालले मन्त्रिपरिषदबाट निर्णय भएकाले सो जग्गाको लालपुर्जा पाउनुपर्ने माग गर्दै आएको छ । रासस 



  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार ६:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया