नेपालमा उच्च शिक्षा : विद्यार्थी घटेकाे घट्यै, विश्वविद्यालयकाे संख्या थपिएकाे थपियै

विसं ०१६ सालमा नेपालमा पहिलोपटक ‘त्रिभुवन विश्वविद्यालय’को स्थापना भयो । पहिलो विश्वविद्यालय स्थापनाको लामो समयसम्म नेपालमा अन्य विश्वविद्यालय स्थापना भएनन् । 

त्यसपछि विसं ०४३ सालमा सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतकै संस्कृत अध्ययन संस्थानलाई छुट्टै विश्वविद्यालयमा रूपान्तण गरेर ‘महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गर्यो । ०६२–०६३ सालको जनआन्दोलनपछि सरकारले उक्त विश्वविद्यालयको नाम ‘नेपाल संस्कृत विश्वविद्यालय’ राख्यो । 

संस्कृत विश्वविद्यालय स्थापनाको पाँच वर्षपछि ०४८ सालमा काठमाडौं विश्वविद्यालय स्थापना भयो । त्यसैगरी, ०५१ मा पूर्वाञ्चल विश्वविद्यालय, ०५४ मा पोखरा विश्वविद्यालय, ०६१ मा लुम्बिनीबौद्ध विश्वविद्यालय र ०६७ सालमा मध्यपश्चिम विश्वविद्यालय स्थापना भए ।

त्यसैगरी, ०६७ सालमा नेपाल कृषि तथा वन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वद्यालयको स्थापना भए । त्यस्तै, ०७३ सालमा नेपाल खुला विश्वविद्यालय र ०७४ सालमा राजर्षी जनक विश्वविद्यालय स्थापना भए ।

नेपालमा हाल ११ वटा राष्ट्रिय विश्वविद्यालय, एक प्रदेश विश्वविद्यालय तथा पाँचवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयको देशभरमा आंगिक र सम्बन्धन प्राप्त गरी एक हजार चार सय ३७ क्याम्पस सञ्चालनमा छन् । 

त्यसैगरी सरकारले चारवटा विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाइसकेको छ । स्थापना प्रक्रियामा रहेका विश्वविद्यालयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय, योगमाया आयुर्वेद विश्वविद्यालय र नेपाल विश्वविद्यालय छन् । यी विश्वविद्यालय स्थापनाका लागि पूर्वाधार तयार गर्न विकास समिति पनि गठन भइसकेको छ ।



विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदनअनुसार हाल सञ्चालित विश्वविद्यालयमा चार लाख ६६ हजार आठ सय २८ जना विद्यार्थी अध्ययनरत छन् । त्यसमा साधारण विषय अध्ययन गर्ने ७७.८३ प्रतिशत र प्राविधिक विषय अध्ययन गर्ने २२.१७ प्रतिशत छन् । साधारणतर्फ ४३ प्रतिशत व्यवस्थापन, १९ प्रतिशत शिक्षा, १३ प्रतिशत मानविकी संकायमा अध्ययनरत छन् । 

प्राविधिक क्षेत्र विद्यार्थीको पहिलो रोजाइ भए पनि विज्ञानमा आठ प्रतिशत, इन्जिनियरिङमा ६.३८ प्रतिशत र मेडिकलमा ५.९८ प्रतिशत भर्ना भएका छन् । विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी दर भने हरेक वर्ष घट्दो क्रममा छ । 



प्रतिवेदनअनुसार शैक्षिक सत्र ०७५–०७६ मा चार लाख ४१ हजार आठ सय १९ विद्यार्थी विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि भर्ना भएका थिए । त्यस्तै, ०७६–७७ मा चार लाख ६६ हजार आठ सय २८ विद्यार्थी उच्च शिक्षाका लागि भर्ना भएका थिए । शैक्षिक सत्र ०७७–०७८ मा चार लाख ६० हजार आठ सय २६ जना विद्यार्थी भर्ना भएको पाइन्छ । ०७६ को तुलनामा ०७७ मा विश्वविद्यालयमा ६ हजार कम विद्यार्थी भर्ना भएका छन् । 

तीन वर्षको तथ्यांक हेर्दा विद्यार्थीको संख्या प्रत्येक वर्ष घटबढ देखिन्छ । प्रतिवेदनअनुसार १० वर्ष अगाडि विश्वविद्यालयमा ०७०– ०७१ मा चार लाख ५८ हजार ६ सय २१ विद्यार्थी उच्च शिक्षाका लागि भर्ना भएका थिए । त्यसको तुलनामा १० वर्षपछि विद्यार्थी संख्या बढ्नुपर्नेमा घट्दो देखिएको हो ।

यस्तै, चिकित्सा शिक्षा तथा प्राविधिक विषय पढ्ने विद्यार्थीको संख्या पनि कम हुँदै गएको छ । कतिपय मेडिकल कलेज तथा प्राविधिक विषय पढाउने कलेजहरू विद्यार्थीको अभावमा बन्दसमेत भइरहेका छन् भने केही बन्द हुने अवस्थामा पुगिसकेका छन् ।
 
किन घटिरहेका छन् विश्वविद्यालयमा विद्यार्थी ?

स्वदेशका विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन् । विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीकोे विकर्षण देखिन थालेको छ । राजनीतिक, आर्थिक, सामाजिक कारणले नेपालका विश्वविद्यालयमा विद्यार्थी घट्ने क्रम बढ्दो छ । कामसँगै पढाइलाई निरन्तरता दिन सकिने भएकाले पनि धेरै नेपाली विद्यार्थी बिदेसिन बाध्य भएको शिक्षाविद्को भनाइ छ । 

पछिल्लो समय विद्यार्थीमा पढेर के हुन्छ र ? भन्ने मनोभाव पैदा भएका कारण पनि विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको प्रा.डा. शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । 

उनका अनुसार पहिले पढ्यो भने जागिर पाइन्छ भन्ने थियो । तर, समय परिवर्तन भएसँगै पछिल्लो समय विद्यार्थीलाई पढेर जागिर पाउने सम्भावना पनि कम देखियो । विश्वविद्यालयले समयमै परीक्षा गर्न नसक्ने, नतिजा दिन नसक्नेजस्ता कारण पनि विद्यार्थीको आकर्षण घटिरहेको छ । साथीभाइले विदेश गएर पढाइसँगै काम गरिरहेको देखेर विद्यार्थी बिदेसिँदा पनि विश्वविद्यालयमा विद्यार्थीको संख्या घटेको उनको भनाइ छ ।

यसैगरी, पुराना विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्नुको मुख्य कारण विश्वविद्यालयको संख्या थपिनु रहेको शिक्षाविद् राजकुमार ढुंगाना बताउँछन् । ‘पहिले एउटा मात्र विश्वविद्यालय थियो । तर, विस्तारै विभिन्न स्थानमा विश्वविद्यालय खुले र अझै पनि खुल्ने क्रम जारी छ,’ उनले भने, ‘नयाँ विश्वविद्यालय थपिँदा नयाँ विकल्प विद्यार्थीका लागि खुले । नयाँ विकल्पका बाटा आएपछि विद्यार्थी छानी–छानी आफ्नो रुचिको विश्वविद्यालयतिर होमिए । त्यसैले विश्वविद्यालयमा विद्यार्थीको संख्या कम देखिएको हो ।’ यसका साथै राजनीतिक हस्तक्षेपका कारणले पनि विश्वविद्यालयमा विद्यार्थीको संख्या घटिरहेको उनको भनाइ छ । 

‘समय परिवर्तनसँगै नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश रोजाइमा पर्दा पनि नेपालका विश्वविद्यालयमा विद्यार्थीको संख्या कम छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा विद्यार्थी कामसँगै पढाइ पनि गर्न सकिने देश जाँदा नेपालका विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्,’ शिक्षाविद् ढुंगानाले भने । 

कति विश्वविद्यालय आवश्यक ?

नेपालमा कति विश्वविद्यालय आवश्यक छन् भन्न सकिने अवस्था नरहेको सरोकारवाला बताउँछन् । किनकि सरकारले नेपालमा विश्वविद्यालयको संख्या, जनशक्ति सम्बन्धमा अहिलेसम्म अनुसन्धान गरेकै छैन । 

आवश्यक जनशक्ति उत्पादन गर्न कुन विश्वविद्यालय सक्षम छ, विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति कहाँ खपत भइरहेको छ भनेर पनि कुनै व्यवस्थित अध्ययन गरिएको छैन । त्यसैले अहिले मुलुकमा कति विश्वविद्यालयको आवश्यकता र कति जनशक्ति उपलब्ध छ भन्ने स्पष्ट नभएको सरोकारवालको भनाइ छ ।

संघीय संसदले छाता ऐन ल्याएर विश्वविद्यालयको सम्भावित क्षेत्र के हो प्रस्ट पारेर विश्वविद्यालय कति आवश्यक छन्, त्यसको विस्तृत अध्ययन गरी विश्वविद्यालय स्थापना गर्नुपर्ने शिक्षाविद् ढुंगाना बताउँछन् । ‘नेपालका विद्यार्थीलाई कस्तो शिक्षा दिँदा लाभदायक हुन्छ र उनीहरूलाई नेपालमा अध्ययनसँगै रोजगारीको वातावरण कसरी सिर्जना गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरी विश्वविद्यालय स्थापना गर्दा ठिक होला,’ शिक्षाविद् ढुंगानाले भने । 

नेपालमा विश्वविद्यालय खुल्ने क्रम जारी छ । स्थापना भइसकेका विश्वविद्यालय गुणस्तरीय शिक्षा दिइरहेको दाबी गरिरहेका छन् । विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको दाबी गरिरहँदा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्याले विश्वविद्यालयलाई गिज्याइरहेको भान हुन्छ । 

कक्षा १२ उत्तीर्ण हुनासाथ बिदेसिने प्रवृत्तिका कारण स्वदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी कम भएको तथ्यांकले देखाउँछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो आर्थिक वर्षमा नो अब्जेक्सन लेटर (एनओसी) लिनेको संख्या १ लाख १० हजार २१७ जना पुगेको जनाएको छ । उनीहरूले उच्च शिक्षाका लागि ७० देशका लागि एनओसी लिएको मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले जानकारी दिए । 

विदेश पढ्न जाने युवाको संख्या झन् बढ्दै गइरहेको छ । त्यसैले युवालाई यहाँका विश्वविद्यालयमा रोक्न शैक्षिक क्यालेन्डर लागू हुनुपर्ने शिक्षाविद्को भनाइ छ ।

‘विद्यार्थीलाई बिहान कक्षा लिएर दिउँसो रोजगारी गर्न सकिने किसिमको पाठ्यक्रम विश्वविद्यालयहरूले विकास गर्न जरुरी छ,’ शिक्षाविद् कोइरालाले भने, ‘विद्यार्थी नियमित आउन नसक्ने भएपछि पार्टटाइम विद्यार्थी भनेर विद्यार्थी भर्ना गर्ने प्रणाली तयार गर्नुपर्यो । विश्वविद्यालयले पढाइसँगै काम गर्ने वातावरण विद्यार्थीलाई प्रदान गर्यो भने विश्वविद्यालयमा विद्यार्थी रुचि बढ्छ र विदार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण मिल्छ ।’ 

उनका अनुसार विश्वविद्यालयहरूले खुला मोड, बन्द मोडमा कक्षा सञ्चालनसँगै कन्ट्याक्ट सेसनका रूपमा कक्षा सञ्चालन गर्नुपर्छ । स्वदेशी तथा विदेशी विद्यार्थीलाई नेपालको डिग्री प्राप्त गर्ने गरी पाठ्यक्रम तयार गरिनुपर्छ । ‘विश्वविद्यालय खोलेर मात्र हुँदैन । विद्यार्थीलाई सीपमूलक शिक्षामा जोड दिनुपर्छ । त्यसैगरी विदेशी विद्यार्थीलाई नेपालको कला, जडीबुटी, संस्कृति अध्ययन गर्नेजस्ता कोर्स विश्वविद्यालयमा समावेश गरियो भने विदेशी विद्यार्थी पनि नेपाल आउने सम्भावना बढ्छ,’ शिक्षाविद् कोइरालाले भने । 

  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १८:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया