बाँझोपनको समस्या बढ्दै गएकोमा चिकित्सकको चिन्ता

ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरूले पछिल्लो केही वर्ष यता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझो पनको समस्या बढ्दै गएको बताएका हुन् । 

उनीहरूले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताए । चिकित्सकहरूका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कृतिपाल सुवेदीले बाझोपन हुनुमा महिला र पुरुषको भूमिका समान हुने बताए । 

उनले विवाह पश्चात् पुरुषहरू वैदेशिक रोजगारीमा जानु पनि बाँझो पनको कारण रहेको औंल्याए । उनले खाडी मुलुकमा गएका पुरुषहरू नेपालमा फर्किँदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकीट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताए । डा. सुवेदीले एक वर्ष वा एक वर्ष भन्दा बढी समयसम्म श्रीमान् श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौन सम्पर्क गर्दा पनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने बताए । डा.सुवेदीले सरकारले बाँझो पनबारे प्रिकन्सेप्सनल काउन्सिलसङ स्थापना गर्ने बेला भइसकेको बताए ।

डा.सुवेदीले भने, ‘अहिलेको अवस्था हेर्दा ग्रामीण तहका युवा पुस्तादेखि विदेश जानका लागि भिसा लाएपछि विवाह गर्ने हो, किन भने त्यो भन्दा अगाडि जागिरको टुंगो छैन । विवाह गरेको १५ दिनमा विदेश जाने हो । दुई वर्षमा आउने हो, दुई महिनाका लागि आउने हो । दुई महिनाको लागि बच्चा चाहियो । यो त प्रकृतिले नै नदिएको कुरालाई जित्न नै सकिँदैन नि ! सरकारले प्रिकन्सेप्सनल काउन्सिलसङ स्थापना गर्ने बेला भइसक्यो । त्यसमा पारामेडिक्सहरुले मज्जाले काउन्सिलसङ गर्न सक्नुहुन्छ । काउन्सिलसङ गर्न थालियो भने बिस्तारै बिस्तारै चेतना आउन थाल्छ । फाइदा बेफाइदाबारे जानकारी हुन्छ ।’ 

वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुरले बाँझो पन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताइन् । डा.ठाकुरले निःसन्तानपनले मानसिक समस्या निम्त्याएको बताइन् । समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपन सम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको बताइन् । 

डा.ठाकुरले भनिन्, ‘बाँझो पन थाहा पाउन महिला र पुरुषको जाँचहरू गर्छौँ । महिलाको हकमा पाठेघर र पुरुषको हकमा वीर्यको परीक्षण गरिन्छ । त्यसपछि महिलाको अण्डा कति बन्छ ? भिडियो एक्स-रे लगायत गरिन्छ । सुरुमा त बाँझोपनको कारण पत्ता लगाइन्छ । कारण पत्ता लगाइसकेपछि उपचारमा जान्छौँ । प्रिकन्सेप्सनल काउन्सिलसङ स्थापना गर्न जरुरी छ जस्तो लाग्छ मलाई । जसलाई प्लान गर्नु छ उसलाई पनि प्रिकन्सेप्सनल काउन्सिलिङमा आएर कुरा गरौँ । र जसलाई निःसन्तानपनको समस्या देखिएको छ, स्वस्थ छौँ की छैनौँ भनेर पनि प्रिकन्सेप्सनल काउन्सिलसङ आवश्यक पर्छ । जहाँ चाहिँ उनीहरू गएर कुरा गरुन् । अहिलेको काउन्सिलसङ आवश्यक परिरहेको छ ।’



भ्रूण रोग विशेषज्ञ डा. विनीता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताइन् । उनले निःसन्तान कसरी हुन्छ भनेर सुरुमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको बताइन् । थापाले निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट सुरु भई १३/१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको बताए । लामो समय लाग्ने हुँदा उपचारका लागि विकट ठाउँबाट आउनेहरूका लागि निकै समस्या हुने गरेको बताइन् । उनले निःसन्तानबारे जनचेतना जगाउन आवश्यक रहेको धारणा राखिन् ।

थापाले भनिन्, ‘पुरुषमा उमेरले फरक नपारे पनि महिलामा चाहिँ उमेर सँगसँगै बाँझो पन हुने समस्या बढ्दै जान्छ भन्छौँ ।  वैदेशिक रोजगारीमा गएर आउनुभएका पुरुषहरूमा एउटा बच्चा पहिल्यै भइसकेको र एउटा बच्चा भएपछि विदेश जानुभयो, फर्केर आउनुभयो, बच्चा नै नबस्ने हुन्छ । सेवा लिन आउनुहुनेहरु भौँतारिनुपर्ने अवस्था पनि छ । सात वटै प्रदेशमा निःसन्तानपन क्लिनिक सुरु गर्ने भन्ने सरकारको योजनामा पनि छ । निःसन्तानपनको उपचार गर्न अलिक समय लाग्छ । निःसन्तान कसरी हुन्छ भनेर सुरुमा त जनचेतना जगाउन आवश्यक पर्छ जस्तो लाग्छ ।’ 



बाँझो पन पछिल्लो केही वर्षयता सरकारको प्राथमिकतामा परे पनि यसको निराकरणका लागि सम्बद्ध निकायहरूले बन्न नसकेको चिकित्सकहरू बताउँछन् ।  

  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार ९:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया