नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको संख्या धेरै भएको पाइएको छ ।

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट उपलब्ध गराइएको विवरणअनुसार एक सय बालिका जन्मिदा सरदर एक सय १४ बालकको जन्म हुने गरेको छ ।  विश्वमा एक सय बालिका जन्मदा एक सय छ बालक जन्मिनुलाई स्वाभाविक रूपमा लिइन्छ । 

मधेस प्रदेशमा एक सय बालिका बराबर एक सय २२ र सुदूरपश्चिम प्रदेशमा एक सय १८ बालकको जन्म हुनुले ती प्रदेशमा अझै पनि छोराप्रतिको चाहना अत्यधिक रहेको देखिन्छ । 

राष्ट्रिय जनगणना, २०७८ अनुसार जन्मँदा महिलाभन्दा पुरुषको संख्या धेरै भए पनि १९ वर्ष उमेरपछि भने पुरुषभन्दा महिलाको जनसंख्या बढी रहेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी नेवीनलाल श्रेष्ठले बताए । 

जनगणनाका बेला ठूलो संख्यामा रहेका युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन भएका कारण लैंगिक अनुपात तलमाथि हुन गएको अनुमान गरिएको छ । स्थानीय तहतर्फ विश्लेषण गर्दा ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक र बालिकाको संख्या उल्लेखनीय देखिएको समितिमा प्रस्तुत राष्ट्रिय जनगणनाले देखाएको जनसंख्याको आकार, प्रकार र संरचनासम्बन्धी प्रस्तुतिमा समावेश छ ।



त्यस्तै, सहरमा काम गर्ने उमेर समूहका युवाको जनसंख्या बढी रहेको देखिएको छ । जनसंख्याको वृद्धिदर मधेस र लुम्बिनी प्रदेशमा एक प्रतिशतभन्दा बढी छ भने १० वर्षमा मधेस र बागमती प्रदेशमा सबैभन्दा धेरै जनसंख्या थपिएको तथ्यांक प्रस्तुत गरियो । 

शून्यदेखि १४ वर्ष उमेर समूहको जनसंख्या घट्नुले प्रजनन न्यून भएको देखाएको र १५ देखि ६४ वर्ष उमेर समूहको जनसंख्या वृद्धि भई ६२ प्रतिशत कायम रहनुले काम गर्न सक्ने उमेर समूहको बाहुल्यलाई पुष्टि गरेको श्रेष्ठले बताए । 



यसैबीच महिलाको नाममा रहेको घर वा जग्गा दुवै हुने परिवारको प्रतिशत २३ दशमलव आठ रहेको तथा महिला मूली भएका परिवार प्रतिशत ३१ दशमलव छ रहेको उल्लेख गरिएको छ । पछिल्लो जनगनणाअनुसार विगत १० वर्षको अवधिमा २७ लाख जनसंख्या बढेको छ ।

वार्षिक जनसंख्याको वृद्धिदर ९० वर्षको इतिहासमा एक प्रतिशतभन्दा तल अर्थात शून्य दशमलव ९२ मा झरेको देखाइएको छ । तथापि, पछिल्लो समय देशमा पुरुष र महिलाको जनसंख्या अन्तरमा सुधार देखिएको छ । 

जनगणनाअनुसार पछिल्लो समय हिमालबाट–पहाड, पहाडबाट तराई र सहरमा बसाइसराई केन्द्रित हुने क्रम बढेको छ । जनसंख्याको ५४ प्रतिशत बसोबास तराई मधेसमा हुने गरेको छ ।

मुलुकको पछिल्लो जनगणनाअनुसार दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसंख्या पुगेको छ । समग्रमा मुलुकमा जन्मदर घटेको तथा औसत आयु बढेको उल्लेख गरिएको छ ।

  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार १९:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया