भारत–पाकिस्तान युद्धले किन तनावमा छ चीन ?

एजेन्सी– प्राय भारत र पाकिस्तानबीच हुने तनाव चीनका लागि फाइदाजनक रहेको मानिन्छ । तर पछिल्लो दिनमा पुलवामा आक्रमण र भारतीय वायु सेनाको कारबाहीप्रति चीनको जुन विचार देखियो यसले सबैलाई आश्चर्यमा पारेको छ । 

यस घटनाक्रमपछि चीनले भारत र पाकिस्तानको तनाव कम गर्न अपील गर्दै आएको छ । साथै चीन पूर्णरुपमा तटस्थ बस्ने प्रयासमा छ । अहिलेसम्म चीनले पाकिस्तानलाई पूर्णरुपमा समर्थन गरेको जस्ता बयान पनि दिएको छैन् । 

चीन भारत र पाकिस्तानबीच बढिरहेको तनावलाई लिएर चिन्तित छ । चीनले ५ मार्चमा आफ्ना विदेश उपमन्त्रीलाई पाकिस्तान भ्रमणमा पठाएको थियो । चिनियाँ विदेश मन्त्रालयका अनुसार यो यात्राको एउटैमात्र उद्देश्य थियो, भारत र पाकिस्तानबीच बढेको तनावलाई कम गर्नु । चिनियाँ विदेश मन्त्री वाङ इले गएको शुक्रबार भनेका थिए ‘दुई छिमेकीबीच उत्पन्न तनावको अन्त्य गर्न मध्यस्थको भूमिका निर्वाह गर्न चीन तयार छ । पछिल्ला दिनमा दुई देशबीचको तनाव कम गर्न पनि चीनको भूमिका ठूलो थियो ।’ 

लन्डनको एसओएस युनिभर्सिटीअन्तर्गत चाइना इन्स्टिट्युटका निर्देशक स्टिभ त्सांगले एक अमेरिकी न्युज च्यानलसँग कुरा गर्दै भनेका थिए ‘भारत र पाकिस्तानबीच सधैं चलिरहने विवादको फाइदा चीनलाई हुन्छ, किनकी यसको कारण चीन पाकिस्तानलाई आफ्नो ठूलो आवश्यकता रहेको महसुस गराउँछ । तर पछिल्लो दिनमा भारत–पाकिस्तानबीच जे भयो यसले चीनलाई निकै चिन्तित बनाएको छ ।’ स्टिभ त्सांगसहित विश्वका केही विज्ञहरु चीन चिन्तित हुनुको पछाडी केही कारण भएको बताउँछन् ।  

चीन र पाकिस्तान मामिला विशेषज्ञहरु भन्छन् चीन पाकिस्तानलाई आफ्नो ‘सदाबहार मित्र’ भन्छ । दक्षिण एसियामा सबैभन्दा घनिष्ठ आर्थिक, कुटनीतिक र सैन्य शक्ति सम्बन्ध पाकिस्तानसँग रहेको छ । पाकिस्तान बेइजिङका हातहतियारको सबैभन्दा ठूलो ग्राहक पनि हो । अमेरिकी थिंक ट्यांक सिएसआइएसका अनुसार २००८ देखि २०१७ सम्म इस्लामाबादले ६ अर्ब डलरभन्दा धेरै चिनियाँ हतियार खरिद गरेको छ । यसबाहेक पछिल्लो चार वर्षमा चीनले पाकिस्तानमा एक ठूलो लगानी पनि गरेको छ । 

यसमा ५० अर्ब डलरबाट बनाइएको चीन पाकिस्तान आर्थिक सम्बन्ध (सिपिइसी) पनि समावेश छ । यस्तो अवस्थामा चीन पाकिस्तानविरुद्ध निर्णय लिन कसरी सक्छ ? बु्रकिंग्स इन्डियामा अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक अनन्त कृष्णनले एक टिप्पणीमा लेखेका थिए ‘ चीनका लागि पाकिस्तान महत्वपूर्ण छ, तर गएको वर्ष अन्तर्राष्ट्रिय स्तरमा जे भयो, त्यो भारतका लागि निकै फाइदामूलक रह्यो । यसको सबैभन्दा ठूलो कारण डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी विदेश तथा व्यापार नीतिमा आएको परिवर्तन थियो । गएको वर्ष डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाा आयात शुल्क लगाएपछि चीनको अर्थव्यवस्थाले नोक्सान व्यहोर्नु परेको छ । युरोपपछि अमेरिका चिनियाँ उत्पादनको ठूलो आयातकर्ता हो । यसकारण ट्रम्पको फैसलाले चीनको आर्थिक विकास २०१८ मा ६.६ प्रतिशत पुर्यायो । जुन २८ वर्षको सबैभन्दा कम आर्थिक विकास दर हो ।’ 



विश्लेषकका अनुसार चीन अमेरिकासँगको व्यापार घाटालाई पूर्ति गर्न सक्ने बजारको खोजीमा छ । यसका लागि भारतीय बजार उपयुक्त हुन सक्ने चीनले मानेको छ । 

प्रोफेर स्टिभ त्सांगका अनुसार यसकारण चीनले भारतसँगको सम्बन्ध राम्रो बनाउन चाहन्छ । दोक्लाम विवादपछि गएको वर्ष अप्रिलमा चीनको विचार परिवर्तन भयो । विवादलाई रोक्दै प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत गर्यो । यसपछि भारत र चीनबीच व्यापार बढिरहेको छ । पछिल्लो छ महिनामा दुई देशबीचको व्यापार ३० प्रतिशतले बृद्धि भएको छ । 



यस्तो अवस्थामा चीन भारतविरुद्ध कुनै कदम उठाउन नचाहेको विश्लेषकको दावी छ । चीनलाई राम्रोसँग थाहा छ, भारत र पाकिस्तानबीचको तनाव धेरै नै बढेपछि चीन एउटाको पक्षमा लाग्नुपर्छ र यो स्थितिमा कुनै एक देशसँगको सम्बन्ध विग्रिन सक्छ, र यसको क्षती चीनले उठाउनुपर्छ । 

केही विश्लेषकले चीनको दुविधालाई लिएर भन्छन् चीनले भारतद्धारा पाकिस्तानको बालाकोटमा गरेको कारबाहीको विरोध नगर्नुको अर्को एउटा कारण छ । जसमा भारतले बालाकोटमा हवाई कारबाही गर्दा यो कारबाही पाकिस्तानी सेना र जनताविरुद्ध नभई आतंककारीविरुद्ध भएको बताएको थियो । 

सिनजियांग प्रान्तमा लाखौं विगर मुस्लिमलाई सामूहिक बन्दी बनाएर राखेको कारण पनि चीन यो कारबाहीविरुद्ध बोल्न नसकेको भारतीयहरुको बुझाई छ । चीनले अल्पसंख्यक मुस्लिमलाई बन्दी बनाएर राखेको विषयको विश्वभर विरोध भइरहेको छ । तर चीनले आफूले यो आतंकवादलाई नियन्त्रण गर्न गरेको बताउँदै आएको छ ।

चीनको यस कारबाहीप्रति भारतले विरोध गरेको छैन् । यसले चीन पनि आतंकवादविरुद्ध गरिएको भारतीय कारबाहीको विरोध गर्न सक्दैन् । चीनले भारतको कारबाही कुनै पश्चिमी देशले विरोध नगरेको र यस्तो अवस्थामा सवाल उठाए भारतविरोधीको रुपमा विश्वभर चिनिने डरले पनि चीनले भारतको विरोध नगरेको अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञहरुको भनाइ छ । 

यही कारण पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेशीले चीनका विदेश मन्त्री वांग इलाई फोन गरेर यो विषयमा कुरा गर्दा चिनियाँ विदेशमन्त्रीले भारतको नाम नलिई प्रत्येक देशको सम्प्रभूताकोे ख्याल गर्न आवश्यक रहेको र अन्तर्राष्ट्रिय नियमको उल्लंघन गर्न नहुने बताएका थिए । 

  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार १३:५१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया