सरकार अहिले सुशासनमा केन्द्रित छ : सञ्चारमन्त्री शर्मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रित रहेको बताएकी छन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन् ।

भ्रष्टाचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिइन् । “सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टाचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ”, उनले भनिन् ।

सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गरिन् । ‘भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ । अनुसन्धान निष्कर्षमा पुर्‍याउने छौँ ।’

मन्त्री शर्माले अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसिकएको बताइन् । सामाजिक सञ्जाल नियमनका लागि कानुन बमोजिम निर्देशिका तयार गरिरहेको जनाउँदै उनले जिल्लाका पत्रकार तथा सरोकारवाला निकायलाई आवश्यक सल्लाह दिन आग्रह गरिन् ।

जिल्लाको विकट क्षेत्रका रुपमा रहेको राजपुरको मुसिनाकामा टेलिकम सेवा विस्तारको तयारी भइरहेको उनले जानकारी दिइन् । घोराही–तुलसीपुर चार लेनको सडकको ठेक्का सहमतिमा रद्द गरिएको जनाउँदै उनले काम नगर्ने ठेकेदारसँग सहमति गरी उक्त ठेक्का रद्द गरिएको बताइन् ।

मन्त्री शर्माका अनुसार उक्त सडक मर्मतको लागि काम अगाडि बढेको छ । नयाँ प्रक्रियाबाट सडक निर्माण अगाडि बढ्ने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १२:२४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया