पर्वतका प्रजिअसहित निजामती कर्मचारी संस्कृत भाषा पढ्दै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पर्वतका निजामती कर्मचारीले संस्कृत भाषा पढ्न थालेका छन् । विसं २०५६–५७ देखि विद्यालय तहका पाठ्यक्रमबाट हटाइएको संस्कृत भाषाको जगेर्ना गर्ने उद्देश्यले यहाँका निजामती कर्मचारीले संस्कृत भाषा सिक्न थालेका हुन् ।

पछिल्लो समय हरेक क्षेत्रमा संस्कृत भाषाको प्रयोग र महत्व बढ्दै जानुका साथै विभिन्न धार्मिक ग्रन्थ, लिपि र ऐतिहासिक दस्तावेजको अध्ययन गर्न टेवा पुग्ने भएकाले संस्कृत भाषा कक्षा सञ्चालन गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी नेत्र पौडेलले जानकारी दिए । संस्कृत देवनागरी लिपिमा लेखिएको पुरानो भाषा रहेको भन्दै उनले वेदमा बोलिने वैदिक र लौकिक भाषालाई जगेर्ना गर्दै व्यावहारिक ज्ञान रुपान्तरण गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताए । 

सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा गत मंगलबारदेखि साँझ ५ः१५ बजेदेखि एक घण्टा संस्कृत कक्षा सञ्चालन गरिएको पौडेलले जानकारी दिए । उनका अनुसार संस्कृत भाषा पढ्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यको नेतृत्वमा जिल्ला समन्वय अधिकारी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेललगायत जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, नगरपालिका तथा गाउँपालिकाका कर्मचारीको सहभागिता रहेको छ । 

कर्मचारीलाई पढाउन सुदर्शन प्रपन्नाचार्य खटिएका छन् । प्रपन्नाचार्यका अनुसार न्यूनतम एक महिनाको सिकाइले संस्कृत भाषा अध्ययन गर्न, बोल्न र दाहोरो संवाद गर्न सक्ने भइन्छ । दुईदेखि तीन महिनासम्मको कक्षा लिएपछि धार्मिक कर्मकाण्डसमेत गर्न–गराउन सकिने उनको भनाइ छ । 

प्रपन्नाचार्यले संस्कृत भाषाको जगेर्ना गर्ने र आमजनमानससम्म यसको महत्व पुर्याउनका लागि निजामती कर्मचारीले थालेको अभियान प्रशंसायोग्य रहेको बताए । यो भाषा जुनसुकै उमेर समूह, धर्म सम्प्रदायका लागि उत्तिकै महत्वपूर्ण रहेकाले सबैले अनिवार्य सिक्न जरुरी रहेको उनको भनाइ थियो । 

'धार्मिक अनुष्ठानमा ब्राम्हणहरुले मात्र प्रयोग गर्ने संस्कृत भाषा नयाँ पुस्ताका युवायुवतीका लागि इतिहास बनिसकेको छ,' प्रजिअ आचार्यले भने, 'हरेक नागरिकका लागि संस्कृत भाषा जान्नु आवश्यक देखिएकाले कार्यालयपछिको समयलाई व्यवस्थापन गरेर संस्कृत भाषा कक्षा सञ्चालन गरिएको हो ।'



पूर्वीय दर्शनको अध्यायन र नैतिक शिक्षाका साथै नेपाली व्याकरणमा शुद्धीकरणका लागि संस्कृत भाषाको कक्षा सञ्चालन गरेर सिक्न थालिएको आचार्यले बताए । यो शिक्षा केवल कर्मचारीका लागि मात्र नभएर समाजका अगुवा व्यक्तिका लागि पनि भएकाले उद्योगी, व्यवसायी, संघसंस्था, पत्रकार, कानुन व्यवसायीलगायत सबै सहभागी भएर सिक्न सकिने उनले बताए । 



  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार १७:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया