नेपालमा ‘ड्रपआउट’को भयावह स्थिति : कहाँ हराए साढे ६ लाख विद्यार्थी ?

गत सालको एसइई परीक्षामा कूल चार लाख ८५ हजार ३८६ परीक्षार्थी सहभागी भएका थिए । यो वर्ष एसइईमा सहभागी भएका विद्यार्थी २०७० सालमा कक्षा एकमा भर्ना भएका हुन् । उक्त वर्ष कक्षा एकमा ११ लाख ७१ हजार ९१६ विद्यार्थी भर्ना भएका थिए । 

कक्षा एकमा भर्ना भएको दर र एसइई दिएका विद्यार्थीको संख्या हेर्दा आकास–जमिनको फरक देखिन्छ । कक्षा एकमा भर्ना भएका विद्यार्थीमध्ये साढे ६ लाख विद्यार्थी एसइई परीक्षासम्म पुगेनन् । आखिर, कहाँ हराए साढे ६ लाख विद्यार्थी ? 
 
०७० सालमा भर्ना भएका विद्यार्थी अर्को वर्ष कक्षा २ मा पुग्दा २६.२ प्रतिशतमा घटे । ०७१ सालमा कक्षा २ मा आठ लाख ६४ हजार ७८७ जना मात्र भर्ना भएका थिए । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्ट ०७८ अनुसार, (कक्षा १–१०) मा बर्सेनि ६.८ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाड्ने गर्छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार कक्षा १ बाट २ र कक्षा ५ बाट ६ मा जाँदा विद्यार्थी संख्या ह्वात्तै घटेको देखाउँछ । ०७४ सालमा कक्षा ५ मा अध्ययनरत सात लाख १९ हजार ८३५ विद्यार्थी थिए भने ०७५ सालमा कक्षा ६ मा जाँदा १४.९ प्रतिशतले घटेर ६ लाख १२ हजार ५२५ मात्रै भर्ना भएका थिए । यसैगरी, कक्षा ८ बाट ९ र कक्षा ९ बाट १० मा जाँदा विद्यार्थी क्रमशः ८ प्रतिशतले घटेको पाइएको छ ।

विद्यालयबाटै ‘ड्रपआउट’ हुनेको संख्या अत्यधिक

०७८ को फ्ल्यास रिपोर्टअनुसार आधारभूत तहमा हाल कुल विद्यार्थी भर्ना दर ९५.११ प्रतिशत छ । भर्ना दर बढ्दो भए पनि पढाइ बीचमै छाड्ने क्रम भने रोकिएको छैन । बीचैमा विद्यालय छाड्ने विद्यार्थी संख्या ठूलो छ । किन विद्यार्थीले बीचैमा पढाइ छाड्छन् ? विद्यालय शिक्षा पूरा गर्न नसक्नुका कारण के–के हुन् ? किन यति ठूलो संख्याका विद्यार्थीले विद्यालय छाड्न बाध्य भए ? यी सबै प्रश्नको उत्तर सरकारले खोजी गरेको भने देखिँदैन । विद्यालयमा बीचैमा विद्यार्थी हराउनुको अर्थ विद्यार्थी ‘ड्रपआउट’ हुनु हो । यसरी हेर्दा विद्यालय शिक्षामा ‘ड्रपआउट’ हुनेको संख्या अत्यधिक देखिन्छ ।

यस्तै, भौतिक पूर्वाधारमा पर्याप्त लगानी नहुँदा पनि अल्पविकसित देशका विद्यार्थीले बीचैमा विद्यालय छाड्ने गरेको शिक्षा मन्त्रालयको ‘शिक्षामा सरकारको नीति तथा कार्यक्रम प्रतिवेदन’मा उल्लेख छ । प्रतिवेदनका अनुसार भर्ना भएका गरिब परिवारका बालबालिकामध्ये २४.९ प्रतिशत निम्नमाध्यमिक र ७.६ प्रतिशत मात्रै माध्यमिक तहमा पुग्छन् ।



विद्यालय शिक्षा पूरा नगरी विद्यार्थीहरु ‘ड्रपआउट’ हुने समस्याको बारेमा राज्यले गहन तरिकाले अध्ययन नगरेको त्रिविका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमा बताउँछन् । उनका अनुसार विद्यालय आउन नसकेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने, टिकाउने र गुणस्तरीय शिक्षा दिने दायित्व राज्यको हो । ‘विद्यालय शिक्षा पूरा नगर्नुका धेरै कारण हुन सक्छन् । जसमध्ये फरक समाज, आर्थिक परिवेशका कारणले पनि विद्यार्थीहरूले बीचमै पढाइ छाड्छन्,’ उनी भन्छन् ।



शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पढेको कुरा जीवनसँग नजोडिने भएका कारण धेरै विद्यार्थी विद्यालय शिक्षा पूरा नगरी ‘ड्रपआउट’ हुने गरेको बताउँछन् । यससँगै शिक्षा प्रणालीका निम्न आय भएका परिवारका हरेक सदस्यले श्रम गर्नुपर्ने बाध्यता भएकाले विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेको उनको भनाइ छ । ‘पढाइमा काम र काममा पढाइ हुन्छ’ भन्ने मान्यता स्थापना गर्न नसक्दा पनि पनि विद्यार्थीहरू विद्यालय शिक्षा पूरा गर्नबाट वञ्चित हुने गरेको उनको ठम्याइ छ ।

उनका अनुसार विकल्परहित शिक्षा प्रणालीले पनि असर गरिरहेको छ । विद्यालयको वातावरण र समय विद्यार्थीअनुकूल नहुँदा पनि उनीहरूले विद्यालय शिक्षा पूरा गर्दैनन् । 

‘पढाइ र गराइको बीचमा सम्बन्ध राख्न सकिएन । शिक्षकको असमान दृष्टिकोणका कारणले पनि विद्यार्थीहरू विद्यालय शिक्षा पूरा गर्दैनन् । छात्रको तुलनामा विद्यालय शिक्षा पूरा नगर्ने छात्रा बढी हुन्छन्,’ शिक्षाविद् कोइराला भन्छन्, ‘कारण, हाम्रो समाजमा छात्रभन्दा छात्रालाई हेर्ने दृष्टिकोण फरक छ । विभिन्न भाषाभाषी, जातजातिका विद्यार्थीलाई कक्षाकोठामा समान व्यवहार नहुँदा पनि विद्यार्थीले विद्यालय शिक्षा पूरा गर्दैनन् ।’

‘ड्रपआउट’ हुनुमा पहिलो कारण गरिबी

विद्यार्थी ‘ड्रपआउट’ हुनुमा पहिलो कारण गरिबी भएको शिक्षाविद् बालचन्द्र लुइँटेल बताउँछन् । उनका अनुसार केही समयसम्म विद्यार्थीहरु विद्यालय गए पनि गरिबी र घरायसी समस्याका कारण अधिकांशले विद्यालय छाड्ने गरेका छन् । कतिपय ठाउँमा छात्राहरू बिहे गरेर जाने भएकाले पनि उनीहरूको पढाइ बीचमै छुटिरहेको हुन्छ । तर, राज्यसँग यो समुदायको व्यवस्थापन गर्ने संयन्त्र नै नभएको उनको भनाइ छ । 

नेपालको विद्यालय शिक्षा संरचना दुई तहमा विभाजन गरिएको छ । आधारभूत तह (१–८) र माध्यमिक तह (९–१२)सम्मलाई विद्यालय शिक्षा भनिन्छ । ‘स्कुल गएका विद्यार्थीमध्ये ५० प्रतिशतभन्दा बढी एसइईभन्दा अगाडि ‘ड्रपआउट’ भइसकेका हुन्छन्,’ नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘कम्तीमा विद्यालय शिक्षा पार गर्नु हरेक विद्यार्थीको आवश्यकता हो । कक्षा एकमा भर्ना भएका सबै विद्यार्थीले विद्यालय शिक्षा पार गर्न जरुरी छ ।’ यसका लागि अभिभावक, समाज, विद्यालय, शिक्षक, राज्यले समयमै ध्यान पुर्याउनुपर्ने उनले बताए । 

‘विद्यालय जान उमेर पुगेका शतप्रतिशत विद्यार्थी विद्यालय जानुपर्छ र गएका शतप्रतिशतले विद्यालय शिक्षा पूरा गर्नुपर्छ । यसरी बीचमै विद्यार्थी ‘ड्रपआउट’ हुँदा बालबालिकाको भविष्य अन्धकारतिर धकेलिन्छ,’ अध्यक्ष भण्डारीले भने ।  

शिक्षाविद् कोइरालाका अनुसार आर्थिक हिसाबले कमजोर रहेका विद्यार्थीको अनिवार्य बचतको अभ्यास गर्नुपर्छ । नेपालका केही स्थानमा यसको अभ्यास पनि सुरु भइसकेको छ । शिक्षकहरूले विद्यार्थीहरूलाई हेर्ने दुष्टिकोणमा परिवर्तन गर्नुपर्छ । शिक्षा प्रणाली लचिलो बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

‘विद्यार्थीलाई पढेको कुरालाई व्यवहारमा लागू गर्ने वातावरण निमार्ण गरिनुपर्छ । त्यस्तै, विद्यालयमा विद्यार्थीको समस्या सुन्ने र समाधानको उपाय पनि औँल्याउने वातावरण निर्माण हुनुपर्छ,’ शिक्षाविद् कोइरालाले भने । पालिकाहरूले पनि विद्यार्थीको समस्या समाधानमा तत्काल चासो देखाउनुपर्ने उनले औँल्याए ।

  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार २०:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया