ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोको बैंक खाताबारे अनुसन्धान गर्न अनुमति

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारो र उनकी पत्नी मिचेलले गहना र अन्य सरकारी उपहार हिनामिना गरेको आरोपमा प्रहरीलाई बैङ्क रेकर्डमा पहुँचका लागि अनुमति दिएका छन् ।

बोल्सोनारो र उनका पूर्वसहयोगीहरूले आफ्नो कार्यकालमा साउदी अरेबिया र बहराइनजस्ता देशहरूबाट प्राप्त महँगा वस्तुहरू अवैधरूपमा राख्न र बेच्ने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले सङ्घीय प्रहरीलाई बोल्सोनारोको ब्राजिलमा रहेको बैङ्क र करसम्बन्धी रेकर्डको अनुसन्धान गर्न र संयुक्त राज्य अमेरिकामा उनीहरूको बैङ्क र कर रेकर्डमा पहुँचका लागि अनुरोध गर्न अधिकार दिएको समाचार संस्था जी–१ लगायत ब्राजिली सञ्चारमाध्यमले जनाएका छन् ।  

सर्वोच्च अदालत र सङ्घीय प्रहरीसँग एएफपीले उक्त बिषयमा तत्काल प्रतिक्रियाका लागि अनुरोध गरे पनि कसैले प्रतिक्रिया दिन तयार भएनन् । 

बोल्सोनारो (२०१९/२०२२) आफ्नो कार्यकाल समाप्त हुनुभन्दा दुई दिन अघि ब्राजिलबाट संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको थियो । आफ्ना उत्तराधिकारी, अनुभवी वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको जनवरी १ को शपथलाई बेवास्ता गर्दै उहाँ अमेरिका जानुभएको थियो । निर्वाचनमा सिल्भाले गत अक्टोबरमा बोल्सोनारोलाई पराजित गरेका थिए । 

अमेरिकामा बोल्सोनारोका सहयोगीहरूले विदेशी सरकारबाट विभिन्न बहुमूल्य उपहार बेचेको वा बेच्ने प्रयास गरेको आरोप लगाइएको छ । गत साता मोरेसले अनुसन्धानका क्रममा बोल्सोनारोका सहयोगीहरूको घरमा प्रहरीले छापा मार्ने आदेश दिनुभएको थियो । 



बोल्सोनारोले गत अप्रिलमा प्रहरीले सोधपुछको सामना गर्न आदेश दिएपछि आफूले कुनै गल्ती नगरेको भन्दै सबै आरोपको खण्डन गरेका थिए ।

मार्चमा ब्राजिल फर्केका ‘ट्रपिकल ट्रम्प’ भनिने यी राजनीतिज्ञले थुप्रै कानुनी समस्याको सामना गर्नु परेको छ । 



  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार २१:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया