संगठनात्मक यथास्थितिवादलाई नभत्काउने हो भने पार्टी विसर्जन हुन्छ : उपमहासचिव पोखरेल

नेकपा माओवादी केन्द्रका उप–महासचिव गिरिराजमणि पोखरेलले, अहिलेकै ढंगले अघि बढ्ने हो भने माओवादी केन्द्रको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन् । 

शनिबार रामवृक्ष यादवको २९औं स्मृतिदिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पोखरेलले माओवादी कमजोर र ओरालो लागेको भन्दै संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताए । 

उनले भने, ‘यदि संगठनात्मकवादको यथास्थितिलाई नभत्काउने हो भने हाम्रो पार्टी विसर्जन हुन्छ र यो इतिहासको विषय बन्छ । यदि यसको विघटनको प्रक्रियालाई रोक्ने हो भने संगठनात्मक क्षेत्रको यथास्थितिवादलाई भत्काउनुपर्छ ।’

उनले संगठनात्मकवादको यथास्थितिलाई भत्काउन पहिला विचारको विकास गर्नुपर्ने, विधि र पद्धतिमा नचलेको पार्टीलाई नीति र नियममा चलाउनुपर्ने, आफ्नो वर्ग र आधारभूत समुदायलाई पक्रिनुपर्ने वर्तमानको आवश्यकता भएको बताए ।

साथै उनले भ्रष्टीकरण र सांस्कृतिक प्रदूषणको विरुद्धमा पार्टीभित्रै संघर्ष नगरेको र जुन वर्गका लागि संघर्ष गरेर आएको हो, त्यसैलाई माओवादीले छाडेकोले पार्टी कमजोर अवस्थामा पुगेको तर्क गरे । त्यस्तै, उनले पार्टी र पार्टी नेतृत्वले आफ्नो दायित्व पूरा नगरेकै कारण नयाँ राजनीतिक पार्टीहरु उदाएको पनि धारणा राखे ।
 
उनले पार्टी सुदृढीकरणका लागि आठौँ महाधिवेशनबाटै प्रयास गरेको भन्दै त्यो महाधिवेशनको डकुमेन्टसम्म नेताकार्यकर्ताले नपढेको भन्दै उनले भने, 'महाधिवेशनले पास गरेको डकुमेन्ट हाम्रो साथमा छैन, जसलाई हामीले बाटो देखाएर हिँड्नुपर्ने हो, त्यो चिज नै हामीले पढेका छैनौँ ।' 

'हाम्रो पार्टी नबिग्रेर कस्को पार्टी बिग्रिनु त ? अहिले बलेसिमा पानीका फोकाजस्ता नयाँ पार्टी देखापरेका छन् । तपाइँ हामीले आफ्नो दायित्व निर्वाह नगरेको कारणले गर्दा हो,’ पोखरेलले भने । 



कार्यक्रममा उनले नेपाललाई बाह्यशक्तिले भूराजनीतिको क्रिडा स्थल बनाउन खोजेको पनि टिप्पणी गरे । 



  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार १९:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया