पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवकको मृत्यु

पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवकको मृत्यु भएको छ । एक युवकले चार तलामाथिबाट हाम फालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा मृत्यु भएको छ । 

राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । 

वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल आएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए । परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको खड्काले जानकारी दिए ।

यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामी मगरको सुतेकै अवस्थामा मृत्यु भएको छ । बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामीमगरको बुधबार राति सुतेकै अवस्थामा निधन भएको संघका अध्यक्ष खड्काले बताए ।

उनका अनुसार राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि उनका साथीहरू उठाउन जाँदा मगर ओछ्यानमै मृतावस्थामा भेटिएका थिए । सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । मृतक मगर त्यहाँस्थित मारभिल्ला नामक कृषि कम्पनीमा कार्यरत थिए ।

उनको शव परीक्षणका लागि बेजा अस्पतालको शवगृहमा राखिएको छ । मगरका वृद्ध बुबा–आमा र श्रीमती नेपालमा छन् । निधन भएका दुवै नेपालीको शव नेपाल पठाउने विषयमा छलफल र आवश्यक तयारी भइरहेको खड्काले बताए ।  





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार ६:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया