‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ ०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ ०८० बाट अभिनेता शिव श्रेष्ठलाई प्रदान गरे । दुवैलाई जनही तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो । 

यस्तै, चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दिया मास्के (प्रकाश), निर्देशक दिनेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाकार पुरुषोत्तम प्रधान (लप्पन छप्पन २), सम्पादक नीमेष श्रेष्ठ (दोख) पुरस्कृत भए । 

यस्तै, निर्णायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ लाई विशेष भन्दै ‘निर्णायक पुरस्कार’ प्रदान गरिएको थियो । उनीहरूलाई जनही २५ हजारसहित पुरस्कृत गरिएको हो । 

पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मानित तथा पुरस्कृत चलचित्रकर्मीलाई बधाई दिइन् । ‘चलचित्रले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । किनकि यो प्रत्यक्ष रूपमा जोडिने बलियो माध्यम हो । त्यसैकारण यसको विकास तथा विस्तारका लागि सरकार सहयोग गर्न प्रतिबद्ध छ,’ मन्त्री शर्माले भनिन्, ‘चलचित्र ऐनको विधेयक मस्यौदा भइरहेको छ । त्यसमा चलचित्रकर्मीको सुझाब लिने काम छिट्टै सुरु गर्नेछौँ । विधेयक पारित भएपछि चलचित्र क्षेत्रले आशा गरेका धेरै काम सम्पन्न हुनेछन् ।’ 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुई वर्षको अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘पुरस्कारमा सबैलाई समेट्न सकिँदैन, तर सबैको प्रतिनिधित्व भने हुन्छ । म अध्यक्ष भएदेखि मैले चलचित्रकर्मीको रूपमा देखेको समस्यालाई समाधान गरिरहेको छु । चलचित्र क्षेत्रको हितलाई विशेष महत्त्व दिई बोर्डले काम गरिरहेको छ ।’ 



समारोहमा राष्ट्रपति पौडेलले ‘विशेष चलचित्र पुरस्कार २०७८’ दुई चलचित्र ‘टुल्की’ र ‘निरमाया’ र ‘विशेष चलचित्र पुरस्कार २०७९’ तीन चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’लाई जनही दुई लाखसहितको पुरस्कार प्रदान गरे । 

सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजंग शाही, गीतकार डब्बु क्षेत्रीसहित विभिन्न ३५ जना चलचित्रकर्मी र संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो । 



  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार २२:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया