प्रचण्डले जनयुद्धका पीडितसँग माफी माग्नुपर्छ : वामदेव गौतम

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका पीडितसँग माफी माग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले जनयुद्धपीडितका घरघरमा पुगेर माफी नमागेसम्म आफू माओवादी प्रवेश सोच्नसम्म पनि नसक्ने बताए । तर, एमाले र एकीकृत समाजवादीमा समाहित हुन आफू तयार रहेको उनको भनाइ छ । 

उनले भने, ‘हामी नेपालको सबै कम्युनिष्टहरु बीच एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जान सक्छु । म माओवादी केन्द्रमा जान सक्दिनँ । किनभने जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए ।’ उनले प्रचण्डले राजनीतिक व्यक्तिको हत्या गल्ती थियो भनेर स्वीकार गरे सोच्न सकिने टिप्पणी गरे । 

‘राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन् ? भन्दैनन् । कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ ।’

उनले एमालेले ७० वर्ष उमेरहद हटायो भन्ने कुरा साँचो नभएको भन्दै उमेरहद भनेको संविधानको धारा २४ को विरुद्धमा भएको टिप्पणी गरे । 

उनले भने,‘संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जान सक्छौँ । नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो, तर, त्यो हटाएको छैन । उमेरहद भनेको यो संविधानको धारा २४ को विरुद्धमा छ । त्यो व्यवस्था उँच, नीच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेरहद नेपालको संविधानविरोधी छ, त्यो हट्नैपर्छ ।’

उनले समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरूमा पुँजीवादभन्दा अरू केही नरहेको जिकिर गरे । 





  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार १९:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया