आज राष्ट्रिय बाल दिवस मनाइँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । 

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ । 

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यले संविधानले प्रत्याभूत गरेको बालबालिकाको हक र अधिकार कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

बालबालिकाको हक, अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको परिषद्ले बालबालिकासम्बन्धी नीतिगत तथा कानुनी पैरवी, सडक बालबालिकामुक्त राष्ट्र घोषणा, बालविवाह तथा बालश्रम अन्त्य, अनाथ तथा अपाङ्गता भएका बालबालिका संरक्षण, उपचार, यौनहिंसा तथा यौन दुव्र्यवहारमा परेका बालबालिकाको उद्धार र संरक्षण, ओसारपसारमा परेका बालबालिकाको उद्धार र संरक्षण तथा कानुनी उपचार, वैकल्पिक सेवाको प्रवर्द्धन, बालगृह अनुमति र अनुगमन गरी नियमन गर्दै आएको छ ।



परिषद्का उपाध्यक्ष बम बानियाँले राष्ट्रिय बाल दिवसलाई सार्थक बनाउन तीनै तहका सरकारका साथै बालअधिकारका क्षेत्रमा कार्यरत सबै विकासका साझेदार, सङ्घसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक सङ्गठनले बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न, बालअधिकारको संरक्षण तथा प्रवर्द्धनमा थप क्रियाशीलता रहन आवश्यक पर्ने बताए ।  



  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार ८:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया