पूर्वसभामुख ढुंगानाको प्रश्न- राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो ?

पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभइ बीपीको विचारबाट फालिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए । 

ढुंगानाले बीपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेको बताए । उनले संवैधानिक राजतन्त्र भएर अक्षरश ब्रिटिस ढाँचामा राजतन्त्र राख्ने पक्षमा बीपी भएको बताए । उनले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो गर्‍याैँ भन्ने ठाउँ नरहेको बताए ।   

‘मेरो अनुभवले यो भन्छ की २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ । राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो ? त्यो संविधानले सक्दैन थियो । राजासँग हामी लडेका थिएनौँ ?,’ ढुंगानाले भने, ‘बीपी कोइरालाको विचार हेर्नुस् त । उहाँले राजालाई संविधान सभाभित्र बस्छौँ की बस्दैनौँ भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो । बस्दैनौँ भने राजतन्त्र जान्छ भन्नुभएको थियो । यो माओवादीले फालेको हो र ? बिपीको विचारले फालेको हो । बिपी फालि हाल्नेमा हुनुहुन्न थियो । संवैधानिक राजतन्त्र भएर अक्षरश ब्रिटिस ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ । होइन भने फाल्छौँ भन्नुभएको थियो । त्यसकारण यो माओवादीले फालेको होइन । फालेर राम्रो गर्‍यो त ? त्यो पो चाहियो छ ।’ 

कार्यक्रममा पूर्वमन्त्री एवं एमाले नेता अग्नि खरेलले संविधान संशोधनको मामिलालाई धेरै नकारात्मकरूपमा लिँदा २०४७ सालको संविधानको हालत जस्तै हुने बताए ।

उनले २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐनले अहिलेको संघीयताको भन्दा बढी स्थानीय तहमा अधिकार दिएको बताए । उनले तर संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानमाथि नै प्रश्न उठेर परिवर्तन गर्नुपरेको बताए । 



खरेलले संविधान संशोधन जरुरी रहेको र संघीयतालाई अझै पनि परीक्षण गर्न जरुरी रहेको बताए । 



‘संविधान संशोधनको मामिलालाई हामीले ज्यादा नेगेटिभ्ली लियौँ भने यो संविधानको हालत पनि २०४७ सालको संविधानको हालत जस्तै हुन्छ । ०४७ सालको संविधान संशोधन गर्न प्रश्न उठेका थिए नि त । त्यो गरेको भए हुन्थ्यो नि त । त्यो परिमार्जन हुँदै गएको भए त कतिपय अधिकार त्यसमा थिए नि त,’ खरेलले भने, ‘वि.सं २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐन बनेको थियो नि त । त्यो स्वायत्त शासनलाई ठीक ढंगले लागू गरेको थियो भने संघीयताको प्रश्न उठ्दैन थियो भन्ने मानिस पनि छन् । श्वेत शासन ऐनले सोझै स्थानीय तहमा अधिकार दिएको थियो, अहिलेको भन्दा बढी थियो । तर ती चिजहरूमा संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानको नीतिमाथि प्रश्न उठ्यो । त्यसकारण संविधान संशोधन जरुरी छ ।’    

कार्यक्रममा माओवादी नेता एवं पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको संविधान टिकाउनुपर्ने बताए । उनले अहिलेको संविधानलाई आवश्यक स्थानमा परिमार्जन र संशोधन गर्नुपर्ने बताए । बिडारीले संशोधन र परिमार्जनका लागि कुनै आयोग गठन हुनुपर्ने बताए । 

निर्वाचन प्रणाली संशोधन हुनुपर्नेमा आफू सहमत रहे पनि गणतन्त्र, धर्म निरपेक्ष, संघीयता र अन्य फन्डामेन्टल कुरा कुरामा संशोधन गर्न नसकिने बताए । 

‘नेपालको संविधान नै २००४ सालदेखि अहिलेसम्म ७ वटा भइसक्यो । एउटा पनि संविधान नटिकाउने ? त्यसकारण यो संविधान टिकाउनु पर्छ । यसलाई परिमार्जित गर्नुपर्छ । संशोधन गर्नुपर्छ । यसको निम्ति कुनै आयोग गठन गर्न सकिन्छ । निर्वाचन प्रणाली संशोधन हुनसक्छ, गणतन्त्रको बारेमा, धर्म निरपेक्षको बारेमा, संघीयताको बारेमा अथवा फन्डामेन्टल कुराको बारेमा संशोधन हुँदैन,’ बिडारीले भने, ‘अहिले गर्न सकिँदैन । राष्ट्रपति खराब भयो, पहिलाकै राजा ठीक थियो भन्छन् । राष्ट्रपतिका काममा पनि हामीले विरोध गर्न पायौँ, अहिले पार्टीतिर छन् ।’  

उनले माओवादीले त्यसै जनयुद्ध गर्‍यो भन्ने कुरा उठेको भन्दै माओवादीसँग सम्झौता भएको माया गरेर नभएको बताए । बिडारीले त्यसबेलामा रहेका सात दलले पनि माओवादीलाई जित्न नसक्दा र राजाले पनि जित्न नसकेको र माओवादीले पनि राजालाई जित्न नसक्दा सम्झौता भएको बताए ।   

  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १६:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया