एक महिनाको मात्र औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड

स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड बढेको छ । केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकामा पछिल्लो समय एक महिनाको मात्रै प्रदान गर्न लागिएको हो ।

एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेलासमेत व्यहोर्नुपरेको छ । बहिरङ्गको टिकट लिएर चिकित्सकसँग परीक्षणपश्चात् मात्रै औषधि पाइन्छ । दीर्घरोगीहरू आफैंमा समस्यामा हुने र टाढा–टाढाबाट महिनैपिच्छे आउनुपर्ने बाध्यता रहेको छ । यसले अस्पतालको व्यवस्थापनमा समेत समस्या देखापरेको छ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप उच्च छ । गत ४ असोजमा एकैदिन अस्पतालमा २ हजार ९ सय ४० जना बिरामी आएका थिए । तीमध्ये २ हजार सात सय ९ बिरामीले बहिरङ्ग सेवामा र दुई सय ३१ जनाले आकस्मिक सेवा लिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

माडी नगरपालिका–४ की गोमादेवी चापागाईँ नियमित सेवन गर्ने औषधि लिन अस्पताल आएकी थिइन् । सोमबार बिहान १०ः३० बजेदेखि अस्पतालको फार्मेसीमा लाइनमा बसेकफ उनले टोकन लिँदा २ सय नम्बर पर्‍यो । बीमाबाट पाउने औषधि लिनका लागि आएका बिरामीको लाइन लामो लाग्ने गरेको छ ।

मधुमेह, उच्च रक्तचाप र पिसाब रोक्ने औषधि लिन आएकी उनी महिनैपिच्छे आउनुपर्दा समस्या भएको बताउँछिन् । चापागाईं भन्छिन्, ‘दुई–तीन महिनाको औषधि लिन पाए यो हैरानी व्यहोर्नुपर्ने थिएन ।’ घरमा बुढाबुढीमात्रै भएको भन्दै ६५ वर्षीया चापागाईँले औषधि लिनका लागिसमेत समस्या हुने गरेको बताइन् । 

माडी चितवन राष्ट्रिय निकुञ्ज पार गरेर आउनु पर्दछ । माडी आउन जान मात्रै ४ सय रुपैयाँभन्दा बढी बसभाडा लाग्छ । भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट नियमित सेवन गर्ने औषधि लिन आएका ६८ वर्षीय अम्बिकाप्रसाद सापकोटा औषधि नियमित लिन आउनुपर्दा झन्झट भएको बताउँछन् । 



अस्पतालमा आएर परीक्षणपछि नियमित सेवन गर्ने औषधिको समेत लाइन बस्नुपर्ने हुँदा बिरामीको चाप बढ्दो क्रममा रहेको उनले बताए । ‘लाइन बस्यो औषधि लिनका लागि १ बज्छ । अस्पतालमा बिरामीको चाप घटाउनका लागि पनि बीमाबाट पाउने नियमित सेवन गर्ने औषधि तीन महिनाको दिनुपर्छ,’ उनले भने । अस्पताल प्रशासनलाई नियमित भन्दासमेत नसुन्ने गरेको सापकोटाको गुनासो छ ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट बिरामी आमा लिएर आएका राजेश लामा आमालाई लिएर लाइनमा थिए । ८२ वर्षीया आमाको नियमित परीक्षण र औषधि सेवन गर्नुपर्ने भएकाले उनले बिरामी नै लिएर अस्पताल आएका हुन् । मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोलको नियमित औषधि सेवन गर्नुपर्ने लामाले बताए ।  
 
अस्पतालमा बिरामीको चाप बढ्नुको कारण बीमाबाट पाउने औषधि लामो समयका लागि नदिनु रहेको उनले बताए ।  अस्पतालमा आइतबारमात्रै बहिरङ्ग सेवामा २ हजार ४ सय ९४ जनाले सेवा लिएका थिए भने आकस्मिक कक्षमा २ सय ४५ जनाले सेवा लिएका थिए ।



अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इञ्चार्ज लीलाधर पौडेलले अस्पतालमा आउने आधा बिरामी नियमित औषधि खाने रहेको बताए । उनको भनाइमा दुई महिनाको लागि मात्रै औषधि दिँदासमेत ४० प्रतिशत बिरामी घट्छन् ।

अस्पतालमा आउने बहिरङ्ग सेवाका बिरामीमध्ये ७० प्रतिशत बीमाका बिरामी छन् । ‘बीमाका बिरामीलाई तीन महिनाको औषधि दिन सकेमा अस्पतालको भीड धेरै घट्छ,’ पौडेलले भने । भीडलाई व्यवस्थित गर्नका लागि अस्पताल प्रशासनले औषधि फार्मेसी काउन्टर थप्दै लगेको छ । 

यस्तै, टिकट काउन्टरसमेत थप्दै लगिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिरामीको चापअनुसार कर्मचारी व्यवस्थापन गर्दै आइएको उनले बताए ।

अस्पतालबाट दिइने सेवाप्रति जनताको विश्वास बढ्दै जाँदा बिरामीको चाप बढेको मेसी पौडेलको भनाइ छ । नियमित औषधि सेवन गर्ने बिरामीलाई बीमा बोर्डले लामो समयको औषधि नदिँदा चाप बढ्दै गएको उनले बताए ।

बीमा बोर्डले पत्र पठाएर एक महिनाभन्दा बढी समयका लागि औषधि नदिन भनेपछि सोहीअनुसार गरिएको उनले बताए । ‘मैले निर्देशकसँग मौखिकसमेत कुराकानी गरेँ, सम्भव छैन भनेपछि एक महिनाका लागि मात्रै औषधि दिइएको हो,’ मेसु पौडेलले भने ।

केही महिनाअघिसम्म अस्पतालमा दुई महिनाका लागि औषधि वितरण गर्ने गरिएको थियो । भीड बढेपछि अस्पतालले तीन महिनाका लागि औषधि दिन सुरु गर्यो । यससँगै बोर्डले पत्राचार गरी नियमसङ्गतरूपमा एक महिनाका लागि मात्रै औषधि दिन पत्राचार गरेको थियो । 

बीमा कार्यक्रममा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा रहेको छ । बीमा दाबी अस्वीकृत दर निकै न्यून भएकाले वार्षिकरूपमा अस्पतालले पाउने रकम अन्यको तुलनामा धेरै छ । रासस 

  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १०:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया