राप्रपाले तय गर्यो तीन चरणको ‘जनसंघर्ष’ कार्यक्रम

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाले १५ चैतदेखि सुरु गर्नेगरी ‘जनसंघर्ष’का कार्यक्रम तय गरेको छ । अज बसेको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले समसामयिक राजनीति, राष्ट्रिय स्वाभिमान यात्राको समीक्षा गर्दै भाबी रणनीति र कार्ययोजना तय गरेको हो ।

पार्टीले यसअघि नै घोषणा गरेको जनसंघर्षका कार्यक्रमलाई बैठकले तीन चरणमा विभाजन गरेको छ । पहिलो चरणमा स्थानीय तहमा, दोस्रो चरणमा जिल्ला सदरमुकाममा चल्ने संघर्षका कार्यक्रमलाई अन्तिम चरणमा राजधानीकेन्द्रित गर्ने बैठकपछि विज्ञप्ति जारी गर्दै राप्रपाले जनाएको छ । 

विज्ञप्तिअनुसार, पहिलो चरणअन्तर्गत १२ देखि १६ चैतसम्म प्रचार–प्रसारको कार्यक्रम रहनेछ । १७ देखि २३ चैतसम्म संघर्षका मागहरुको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान चलाई २५ गते केन्द्रमा सिंहदरबारअगाडि, सातै प्रदेश राजधानीमा र सबै जिल्ला सदरमुकाममा १ घण्टे धर्ना दिने कार्यक्रम बैठकले तय गरेको छ । 

राप्रपाले २८ चैतमा सबै स्थानीय तहका केन्द्रमा धर्ना, ५ वैशाखमा सबै जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको ब्यानर तथा प्लेकार्ड दहन र ८ वैशाखमा देशभरका सबै राजमार्ग र चोकहरुमा २ घन्टे सत्याग्रहको कार्यक्रमसार्वजनिक गरेको छ ।

पहिलो चरणको संघर्ष सकिएपछि दोस्रो र तेस्रो चरणको कार्यक्रम तयार गरिने राप्रपाले जनाएको छ । संघर्षका कार्यक्रम तय भए पनि आफ्ना मागबारे सरकार सकारत्मक रुपमा प्रस्तुत भए वार्ताको ढोका खुलै राख्ने बैठकको निर्णय छ ।  राखिनेछ ।

बैठकले केही दिनअघि सरकारले ‘विखण्डनकारी’ सिके राउतसँग गरेको सम्झौता अप्रत्याशित र रहस्यमय भन्दै सम्झौतामा प्रयुक्त भाषा र सम्झौतापछिका गतिविधिले जनतामा व्यापक आशंका र चिन्ता पैदा गरेको निष्कर्ष निकालेको छ । 



राष्ट्रिय अखण्डताजस्तो संवेदनशील विषयमा उठेका प्रश्नका जवाफ दिन विलम्ब गर्न नहुने भन्दै राप्रपाले सम्झौताका सम्बन्धमा देखिएका भ्रम र चिन्ताबाट राष्ट्रलाई तत्काल मुक्त गराउन सरकारसमक्ष माग गरेको छ । 

२६ फागुनमा सरकारी सुरक्षा घेराभित्र जनकपुरमा भएको विखण्डनकारी गतिविधिबारे राज्य संयन्त्र मौन बसेको भन्दै पार्टीले खेद प्रकट गरेको छ । 



विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धका सम्बन्धमा बैठकले विप्लवले हिंसा परित्याग गरी राजनीतिक मूलधारमा आउनुपर्ने र सरकारले पनि प्रतिबन्ध वा दमन नभई वार्ता र सहमतिबाट समस्याको निकास खोज्नुपर्ने निचोड निकालेको छ । 

  • प्रकाशित मिति : चैत २, २०७५ शनिबार १८:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया