नेपालविरुद्ध भारतलाई चौथो झड्का, दीपेन्द्रले लिए जैसवालको विकेट

चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलअन्तर्गत भारतविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । नेपाललाई चौथो सफलता अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले ओपनिङ ब्याटर यशस्वी जैसवाललाई १ सय रनमा क्याच आउट गराए । 

जैसवालले ४९ बलमा ७ छक्का र ८ चौकाको मद्दतमा शतकीय पारी खेलेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा जैसवालको यो पहिलो शतक हो । टस जितेर ब्याटिङ रोजेको भारतले यो समाचार तयार पार्दासम्म १६.३ ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रन बनाएको छ । भारतविरुद्ध नेपाललाई तेस्रो सफलता स्पिनर सन्दीप लामिछानेले दिलाए ।

उनले १२.५ ओभरमा विकेटकिपर जितेश शर्मालाई ५ रनमा आउट गरे । नेपाललाई दोस्रो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले ११.४ ओभरमा तिलक वर्मालाई २ रनमै बोल्ड गरे । त्यसअघि नेपाललाई पहिलो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले भारतीय कप्तान ऋतुराज गायकवाडलाई ९.५ ओभरमा व्यक्तिगत २५ रनमा क्याच आउट गराए । 

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज विनोद भण्डारीलाई बाहिर राख्दै करण केसीलाई मौका दिएको हो । 

हाल नेपाली टिम उच्च लयमा छ । केही साताअघि मात्र नेपालले भारतको सिनियर टिमविरुद्ध राम्रो ब्याटिङ गरेको थियो । यस्तै, नेपालले जारी एसियन गेम्सको समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।  

समूह चरणमा नेपालले मंगोलियालाई २ सय ७३ तथा माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । नेपाल भारतविरुद्ध पनि सोही लय कायम राख्न चाहन्छ । भारतले पहिलोपटक एसियन गेम्समा क्रिकेट खेलिरहेको हो । 



यसअघिको दुई संस्करणमा उसले सहभागिता जनाएको थियो । भारत पहिलो खेलमै नेपाललाई हराउँदै सेमिफाइनलको यात्रा गर्ने रणनीतिमा छ । 

नेपाल भारतलाई हराउँदै पहिलोपटक सेमिफाइनलको टिकट काट्ने दाउमा छ । यसअघिको दुई संस्करणमा नेपाल क्वाटरफलबाटै बाहिरिएको थियो ।   



नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।  

भारतको प्लेइङ–११ : रुतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक वर्मा, शिवम दुबे, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिङ्टन सुन्दर, आर साई किशोर, रवि बिश्नोई, आवेश खान र अर्शदीप सिंह ।

  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार ८:७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया