अलमलमा नेकपा एकीकरणः किन आइरहेछ नेताहरुबाट विघटन हुनसक्ने अभिव्यक्ति ?

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अब केही दिनलाई पछाडि सरेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेपछि एकीकरण स्वाभाविक रुपले केही पछाडि सरेको हो । 

तर, यहीबीच पार्टीको सांगठनिक एकीकरणबारे बाँकी विषयलाई लिएर नेताहरूबीच मत बाझिएको छ । सांगठनिक एकीकरणमा ढिलाइ हुँदा पार्टी एकताको बाँकी प्रक्रिया समाप्त भएर फुटको संघारमा पुग्ने हो कि भन्ने आशंका पनि बढेको छ । यस विषयमा सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यबीच नै फरकफरक अभिव्यक्ति आइरहेको छ । 

नेकपाभित्र विशेषगरी पूर्वमाओवादी केन्द्रका नेताहरूभन्दा पूर्वएमालेकै नेताहरूले पार्टी एकताको बाँकी काममा भाँजो हालेको आरोप पनि लाग्न थालेको छ । यसमा सबैभन्दा अग्रपंक्तिमा देखिएका छन्, झलनाथ खनाल । 

खनालले सचिवालय बैठक बस्न ढिलो भइरहेको र यसले पार्टी एकतामा समस्या ल्याउने निश्चित भएको बताएका छन् । सचिवालय वैठक बस्न ढिलो हुँदा भंग गरिएको एकता कार्यदलले बुझाएको दुई प्रतिवेदनमाथि छलफल हुन पाएको छैन । 

सचिवालय सदस्य झलनाथ खनालले अध्यक्षद्वयले जहिले बोलाएपनि वैठक बस्ने जानकारी दिए । उनले भने, ‘सचिवालय वैठक नबोलाएर बस्न नसकेको हो । वैठक बोलाएपछि जहिले पनि बस्न सकिन्छ ।’ तर, उनले एकीकरणको काम समयमा नसकिँदा पार्टीभित्र विग्रह पैदा भएको पनि बताए । उनले भने, ‘पार्टी एकीकरण चाँडो गर्नु पर्ने जरुरत छ । एकीकरणलाई सम्पन्न नगर्दा पार्टीभित्र विस्तारै विग्रह पैदा भइरहेको छ । त्यसकारण चाँडोभन्दा चाँडो एकीकरण गर्नुपर्छ ।’ 

पार्टी एकीकरणका विषयमा भएका असन्तुष्टि छलफलबाट मिलाउन सकिने तर अहिलेको अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने उनले बताए । 



नेकपाका प्रवक्ता नारायकाजी श्रेष्ठले प्रचण्ड अमेरिकाबाट फर्किए लगत्तै सचिवालय वैठक बसेर पार्टी एकताको बाँकी कामका विषयमा छलफल गर्ने बताए । उनले भने, ‘प्रचण्ड कमरेड अमेरिकाबाट फर्किएपछि सचिवालय बैठक बस्छ । त्यसपछि एकीकरणको बारेमा थप कुरा हुन्छ ।’ 

सचिवालय सदस्य झलनाथ खनालले पार्टी भित्रको विवादले पार्टी विघटनको खतरा रहेको छ भन्नुभएको छ भन्ने फरकघारको प्रश्नमा प्रवक्ता श्रेष्ठले बाहिर फिँजाइए जस्तो पार्टीमा विवाद नभएको स्पष्ट पारे । उनले भने, ‘विघटन हुँदैन ।’ 



पार्टी स्थायी कमिटि सदस्य अग्नी सापकोटाले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन भएको ढिलाइले पार्टीलाई मात्रै नभएर सरकारलाई समेत नोक्सान भएको बताए । उनले भने, ‘पार्टी एकतालाई निष्कर्षमा पु¥याउन भएको ढिलाइले पार्टीलाई ठूलो नोक्सान भएको छ । पार्टी एकता नभएर सबै तहका सरकारको काम पनि प्रभावकारी भएको छैन ।’ 

के अब नेकपा फुटको संघारमा जान लागेको हो भन्ने फरकधारको प्रश्नमा नेता सापकोटाले यसलाई अस्वीकार गरे । उनले भने, ‘बिल्कुलै होइन, यस्तो कल्पना नै गर्नु पर्दैन । फुटको कुुरा आएको भन्नेलाई सरासर खारेज गर्छु म ।’ 

  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार १२:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया