कोशीमा राजनीतिक अस्थिरता : मुख्यमन्त्री फेरिएको फेरियै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेश सरकारले पाँचाैँ मुख्यमन्त्री पाएको छ । ९ महिनाको अवधिमा मुख्यमन्त्री फेरिएका फेरियै छन् । पछिल्लोपटक एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।

९३ सदस्यीय कोशी प्रदेशमा कुनै पनि दलको बहुमत हुन नसक्दा राजनीतिक अस्थिरता देखिएको हो । सरकार बनाउन ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । तर कुनै पनि दलसँग यति सांसद संख्या छैन । त्यसैले अरू दलको सहयोग बिना सरकार बनाउने सम्भावना नभएको हो ।

प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० र कांग्रेसका २९ जना सांसद छन् । यस्तै, नेकपा एकीकृत माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एकजना सांसद छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालमा त्यसबेलाको गठबन्धन माओवादी, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा एमालेका हिक्मतकुमार कार्की २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

राष्ट्रपति निर्वाचनका बेला केन्द्रीय सत्ता समीकरण फेरिएसँगै एमालेसँगको गठबन्धन भत्काएर माओवादी र जसपाले कांग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । त्यसपछि समर्थन गुमाउन पुग्दा कार्की नेतृत्वको सरकार साढे ६ महिनामै ढलेको थियो ।

कार्कीलाई समर्थन गरेका जसपा र माओवादीले समर्थन फिर्ता लिएका थिए । त्यही कारण कार्कीले १५ असारमा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् ।



त्यसपछि गठबन्धनमा आबद्ध दलले सभामुखको हस्ताक्षरसहित दाबी गरेपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेसका उद्धव थापालाई २१ असारमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

तत्कालीन सभामुख बाबुराम भण्डारी सरकार बनाउने प्रक्रियामा प्रत्यक्ष सहभागी भएपछि विवाद भएको थियो । संवैधानिक व्यवस्थाविपरीत सभामुखको स्वतन्त्र मर्यादालाई बिर्सँदै सरकार गठन प्रक्रियामा सामेल गराइएको भन्दै बदर गर्न मागसहित एमाले सर्वोच्च अदालत पुगेको थियो ।



दुवै पक्षको सुनुवाइपछि सर्वाेच्च अदालतले थापाको मुख्यमन्त्रीमा नियुक्तिलाई बदर गरेको थियो । त्यसपछि गठबन्धन दलहरूले सभामुख भण्डारीलाई राजीनामा गर्न लगाएर साउन १६ गते दोस्रो पटक मुख्यमन्त्रीमा थापाको दाबी प्रस्तुत गरेका थिए । 

मुख्यमन्त्री थापाले सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि फेरि विवाद भएको थियो । विवाद फेरि सर्वाेच्च अदालत पुग्यो । सर्वोच्चले थापालाई संवैधानिक मर्यादा सम्झाउँदै संविधानको धारा १६८ को उपधारा (३) अनुसारको सरकार ४८ घण्टाभित्र गठन गर्न प्रदेश प्रमुख खापुङको नाममा परमादेश जारी गरेको थियो ।

त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता कार्कीले दोस्रो पटक अल्पमतको सरकार गठन गरे । तर, प्रदेशसभामा उनले विश्वासको मत सिद्ध गर्न सकेनन् ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन गर्नुपर्ने अवस्था आयो । गठबन्धन दलका शीर्ष नेताहरूले माओवादी नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार गठनका लागि सहमति जनाए ।

उनको नेतृत्वमा गठन हुने सरकार गठन भए पनि विश्वासको मत पाउन नसक्ने अवस्था देखिएन । प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जाने अवस्था आएपछि कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरे । 

कांग्रेसको शेखर कोइराला पक्षका ‘विद्रोही’ ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । उनले कांग्रेसका एक र एमालेका एकजनालाई सहभागी गराएर तीन सदस्यी मन्त्रिपरिषद गठन गरेका छन् । 

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक बुधबारका लागि बोलाइएको छ । एमाले नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्की प्रदेशमा केन्द्रको निर्णय प्रभावी हुने गरेकाले राजनीतिक अस्थिरता देखिएको बताउँछन् । माओवादी नेता इन्द्रबहादुर आङ्बो भने प्रदेशमा केन्द्रको हस्तक्षेप नभएको दाबी गर्छन् ।

कोशी प्रदेशमा यसअघि एमालेका शेरधन राई, एमालेकै भीम आचार्य, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री भइसकेका छन् । तर राजनीतिक अस्थिरताकै कारण कुनै पनि मुख्यमन्त्रीले पूर्ण कार्यकाल काम गर्न सकेनन् । 

  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार १२:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया