विश्वकपमा सर्वाधिक रनकर्ता : शीर्षमा उक्लिए डिकक, अरूको स्थान कहाँ ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दक्षिण अफ्रिकाका स्टार क्विटन डिक भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । उनले ५ खेल खेल्दा सर्वाधिक ३ शतकको मद्दतमा ४ सय ७ रन बनाएका छन् ।

डिकक अहिलेसम्म यस विश्वकपको एक खेलमा उच्च स्कोर बनाउने ब्याटर पनि हुन् । उनले मंगलबार राति बंगलादेशविरुद्ध १७४ रनको विस्फोटक इनिङ खेले । डिककले यही विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिँदैछन् ।

हालसम्म विश्वकप उपाधि जित्न नसकेको दक्षिण अफ्रिकाले यसपटक भने त्यो सपना पूरा गर्ने सम्भावना छ । हाल डिकक मात्र होइन दक्षिण अफ्रिकाका अन्य खेलाडी पनि उच्च लयमा छन् । 

जारी विश्वकपमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा भारतीय टिमका पूर्वकप्तान विराट कोहली रहेका छन् । उनले ५ खेलमा तीन अर्धशतक र एक शतकको सहयोगमा ३५४ रन बनाएका छन् ।

कोहलीको सानदार ब्याटिङमा भारतले ५ खेल खेल्दा पाँचैमा जित निकालेको छ । भारतलाई यसपटक उपाधि दाबेदार टिमका रूपमा हेरिएको छ । उसले सन् २०११ यता एकदिवसीय विश्वकप जित्न सकेको छैन । 



१३औँ संस्करणको विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा भारतीय कप्तान रोहित शर्माको नाम तेस्रो स्थानमा आउँछ । उनले ५ खेलमा एक शतक र एक अर्धशतकको मद्दतमा ३११ रन बनाएका छन् । आक्रामक ब्याटिङका लागि परिचित रोहितले जारी विश्वकपमा सर्वाधिक १७ छक्का हिर्काएका छन् । भारतको लगातार पाँच जितमा उनको भूमिका पनि अहम् छ । 



यो सूचीको चौथो स्थानमा पाकिस्तान टिमका विकेटकिपर मोहम्मद रिजवानको नाम आउँछ । उनले ५ खेलमा एक शतक र दुई अर्धशतकसहित ३०२ रन बनाएका छन् । टिमले सन्तोषजनक प्रदर्शन गर्न नसके पनि रिजवानले भने राम्रो ब्याटिङ गरिरहेका छन् । पाकिस्तानले उत्कृष्ट कमब्याक गर्ने हो भने रिजवानको ब्याट चल्नुको अर्को विकल्प छैन । 

जारी विश्वकपमा सर्वाधिक रन बनाउने सूचीको पाँचौं स्थानमा न्यूजिल्याण्डका युवा अलराउन्डर रचिन रवीन्द्र रहेका छन् । उनले ५ खेलमा एक शतक र दुई अर्धशतकसहित २९० रन बनाएका छन् ।

न्यूजिल्याण्डले ५ मध्ये चार खेलमा जित निकाल्न रवीन्द्रको भूमिका पनि अहम् छ । उनले आफ्नो डेब्यू विश्वकपमै सानदार प्रदर्शन गरिरहेका छन् । 

  • प्रकाशित मिति : कात्तिक ८, २०८० बुधबार ९:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया