आर्थिक तथा जनशक्ति अभावको मारमा वीर अस्पताल

गत वर्ष ५ फागुन ०७९ मा अर्थोपेडिक सर्जन डा. सन्तोष पौडेललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भए । डा. पौडेलले यसअघि ट्रमा सेन्टरको नेतृत्व गरेका थिए ।

वीर अस्पतालको बेड क्षमता भनेको नौ सय ६० हो । डा. पौडेल निर्देशक हुनुपूर्व पाँच सय बेड मात्र सञ्चालनमा थिए । चार सय ६० बेड चल्न बाँकी रहेको अवस्थामा डा. पौडेलले नौ सय ६० बेडलाई नै सञ्चालनमा ल्याउने लक्ष्य लिएका थिए । सोही लक्ष्यलाई आधार बनाई उनी अघि बढिरहेका थिए । 

‘बेड अभावमा एउटै बेडमा दुई–तीन बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था थियो । जसकारण बिरामीको चापअनुसार अस्पतालले दिने सेवा कम भइरहेको थियो,’ डा. पौडेलले भने, ‘यहीबीच लोकसेवा पास भएर दुई सय ४६ जना नर्स आए । नर्सहरू वीरमा आइसकेपछि प्राथमिकतामा राखेका कामलाई अगाडि बढाउन अस्पताललाई सहज भयो ।’ 

वीर अस्पतालले १ साउनदेखि बिहान ८ बजेदेखि ओपिडी सेवा दिन सुरु गर्यो । अस्पतालमा सेवा समय बढेपछि बिरामीको चापमा पनि स्वतः वृद्धि हुने नै भयो । ‘बिरामीको चाप बढेपछि व्यवस्थापनले पनि ध्यान दिनुपर्यो । बिरामी आउने संख्या बढ्दै जाँदा कार्यालय समय पुरानै राख्दा चाप झन् बढ्ने देखेपछि अस्पतालले यस्तो निर्णय लिएको हो । जुन अहिले एकदमै प्रभावकारी भइरहेको प्रतिक्रिया आइरहेका छन्,’ डा. पौडेलले भने ।  

उनका अनुसार अस्पतालले असारदेखि नौ सयवटा बेड सञ्चालनमा ल्यायो । वीर अस्पतालमा गत असार–साउनमा दुईवटा कुरामा सुधार भयो । एउटा कार्यालय समय ८ बजेदेखि सुरु गरियो भने अर्को अस्पतालको बेड संख्या बढाइयो । सर्जिकलमा भर्ना भएका ९० प्रतिशत बिरामीलाई अप्रेसन गर्नुपर्ने हुन्छ । त्यसैले अप्रेसन सेवाको क्षमता बढाउनेतिर पनि वीरको ध्यान दियोे । र, नौवटा बेड अप्रेसन सेवा सञ्चालन भइरहेको थियो भने त्यसलाई बढाएर १५ वटा बेडमा पुर्याइएको डा. पौडेल बताउँछन् । 

‘गएका दिन महिना धेरै मिहिनेत गरेका थियौँ । मिर्गौला अप्रेसन हप्तामा तीन दिन चलिरहेको थियो । हामीले हप्ताको ६ दिन गर्ने बनायौँ । त्यसैगरी मिर्गौला प्रत्यारोपण हप्ताको १ दिन थियो, यसलाई बढाएर साताको तीन बनाएर अगाडि बढ्दै थियौँ,’ डा. पौडेल भन्छन्, ‘तर, गत २१ गते ठूलो संख्यामा अस्पतालको ठूलो जनशक्ति कटौती गर्नुपर्यो । सरकारले कटौती गरेको उक्त जनशक्तिलाई धान्ने आर्थिक अवस्था नरहेको जनाएपछि हामीले बाध्य भएर निकाल्नुपर्यो । उक्त जनशक्तिको साथ, सहयोगले हामी जुन अवस्थामा पुगेका थियौँ, पुनः अस्पतालका सेवामा खुम्चिनुपर्ने अवस्था आएको छ ।’



उनी कार्यकारी निर्देशकमा नियुक्त हुँदा स्पष्ट भिजन थियो । जसरी हुन्छ, वीरलाई एक उदाहरणीय अस्पताल बनाउने । त्यसका लागि उनीलगायत सम्पूर्ण टिमले अस्पताललाई चुस्त, दुरुस्त बनाउन अहोरात्र खटिरहेका थिए । अस्पतालको सम्पूर्ण टिमलाई झट्का तब लाग्यो जब पूर्व जानकारीविनै दुई सय ७६ जना अस्पतालका कर्मचारीलाई काममा नआउन भनियो । 

अहिलेको आर्थिक अवस्थाले यो जनशक्ति नधान्ने भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले करार सेवा थप्न नसकिने निर्णय गरेको छ । उक्त निर्णयअनुसार २१ असोजदेखि काममा नआउन चिकित्सक, स्वास्थ्यकर्मीलाई भनिएको छ । उक्त निर्णयले अहोरात्र बिरामीको सेवामा खटिरहने चिकित्सक, कर्मचारीमाथि अन्याय भएको सरोकारवालाले जनाइरहेका छन् । सरकारको यस निर्णयले वीर अस्पतालमा कोरोना महामारीका बेला नियुक्त गरिएका दुई सय ७६ चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीको जागिर खोसिएको छ भने सेवा पनि केही हदसम्म प्रभावित भएको सरोकारवालाको भनाइ छ ।



वीर अस्पतालले जनाएअनुसार दुई सय ७६ मध्ये केहीले बीचमा आफैँ छाडिसकेका छन् । ५० डाक्टर, एक सय ६२ नर्स, ११ प्रयोगशाला प्राविधिक, सात रेडियोलोजिस्ट लगायतलाई जागिरबाट निकालिएको छ । 

वीर अस्पतालमा आउने सेवाग्राहीको चाप बर्सेनि बढ्यो । तीन वर्षअगाडि र अहिले हेर्दा वीरमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिए । उनका अनुसार ओपिडी सेवामा दैनिक लगभग २५ सयको हाराहारीमा आउने गर्छन् । कुनै दिन ३५ सयसम्म पुग्ने गरेका छन् । पहिले १५–१८ सयसम्म बिरामी आउने गरेको ती चिकित्सकले जानकारी दिए । 

अहिले हटाइएका स्वास्थ्यकर्मीहरू वीरलाई आवश्यक भएकै जनशक्ति रहेको न्याम्सका एक चिकित्सकले जानकारी दिए । ‘पहिलेको तुलनामा वीर अस्पतालको सेवा धेरै विस्तार गरिएको छ । करारमा रहेका यिनै कर्मचारीको बलमा सर्जिकल भवनमा सेवा विस्तार गरिएको थियो । पहिला इमर्जेन्सी, आइसियु, अप्रेसन थिएटर, भिआइपी उपचारजस्ता सेवा बढाइएको छ,’ ती चिकित्सकले भने ।
  
जनताको वीर अस्पतालप्रतिको आस्था बढ्दो रहेको संख्या, सेवाले बताएको छ । नेपालको सरकारी स्वास्थ्य सेवामा सबैभन्दा बढी विशेषज्ञ, विभाग भएको अस्पताल नै वीर भएकाले पनि धेरै बिरामी यहीँ आउने गरेको चिकित्सकहरूको भनाइ छ । त्यसैगरी अर्को कारण भनेको बिमाको अन्तिम विन्दु नै वीर भएकाले पनि यहाँ बिरामीको चाप बढी छ । यस्तो अवस्थामा अस्पतालमा भएको जनशक्तिलाई कटौती गर्दा अस्पताल र बिरामी मारमा परेका छन् ।
 
‘ठूलो जनशक्तिलाई कटौटी गर्दा हामीलाई धेरै अप्ठेरो पर्यो । क्षमताभन्दा बढी हामीले राख्ने कुरा हुँदैन । तर, सेवाको गुणस्तरलाई ह्रास नआउने गरेर अधिकतम सेवा दिने प्रयास गरिरहेका छौँ,’ डा. पौडेलले भने । एकैपटक अस्पतालको ठूलो जनशक्ति कटौती गर्दा सेवामा बेलाबखत अवरोध सिर्जना भइरहेको उनको भनाइ छ । 

उनका अनुसार ६० बेडको आइसियू सञ्चालनमा रहेकोमा हाल घटेर २८ वटा बेडमा झरेको अवस्था छ । पछिल्ला तीन महिनामा जुन उत्साहपूर्ण सेवा वीरले प्रदान गर्दै आइरहेको थियो । हाल वीरले दिने सेवामा केही पछाडि धकेलिएको छ । जनशक्ति तथा बजेटको अभावमा वीरले खुसी भएर सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेको छ भन्ने अवस्थामा आफू नरहेको डा. पौडेल बताउँछन् । 

आर्थिक वर्ष ०७९–८० मा वीर अस्पतालले सरकारबाट एक अर्ब ४३ करोड अनुदान पाएको थियो । तर, यो आर्थिक वर्षमा वीर अस्पतालले ७३ करोड मात्र अनुदान पाएको डा. पौडेलले जानकारी दिए । 

‘हामीले पाँच सय बेडलाई एकैपटक नौ सय पुर्यायौँ । आइसियू बेड, अप्रेसन बेड क्षमता पनि बढायौँ । तर, बजेट घट्यो । उक्त ७३ करोडमा ५० करोड मात्र जनशक्तिको तलब, भत्तामा जान्छ । 

बाँकी रहेको बजेटमा बिजुली, पानी, अत्यावश्यक काममा खर्च हुन्छ । त्यसैले हामीले दिने सेवामा सम्झौता गर्नुपर्ने जोखिम देखिएको छ,’ डा. पौडेल भन्छन्, ‘हाम्रो आन्तरिक आम्दानीको ९० प्रतिशतभन्दा बढी हिस्सा कर्मचारीको तलब, भत्तामा जान्छ ।किनभने सरकारी तर्फबाहेक वीर अस्पतालतर्फका कर्मचारीको संख्या धेरै छ । त्यसैले अन्य ठाउँमा खर्च गर्न पाउँदैनौँ । अहिले वीरलाई जनशक्ति र आर्थिक अभावले चपेटामा पारेको अवस्था छ ।’ वीरमा देखिएको समस्या बारेमा सम्बन्धित पक्षसँग छलफल समेत गरिरहेको उनले जानकारी दिए ।

विनाजानकारी जनशक्ति कटौती गर्दा अस्पताललाई मार त परेको नै छ । साथै सेवामा पनि अवरोध सिर्जना हुने जोखिम उच्च रहेको सरोकारवाला निकायको भनाइ छ । यसबारेमा अहिले भएका कर्मचारी निकाल्दा वीरमा सेवा खस्किने जानकारी प्रधानमन्त्रीलाई समेत गराइसकिएको न्याम्सले जनाएको छ । वीरमा देखिएको यस समस्यालाई समयमै समाधान गर्न अत्यावश्यक रहेको न्याम्सले जनाएको छ । 

  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १७:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया