टिकटकका गैरकानुनी सामग्री स्वतः हटाउन सरकारले थाल्यो प्रयास

सरकारले चर्चित एप टिकटकका गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय प्रतिनिधिसँग आग्रह गरेको छ । 

गृह मन्त्रालयमा भएको छलफलमा टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्ति पत्तालगाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउनेबारे आज भएको नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयका प्रतिनिधिबीचको छलफलमा गैरकानुनी सामग्री नियन्त्रणबारे छलफल भएको उनले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

‘जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

टिकटकका प्रतिनिधिसँग गृह मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकायलगायत सरकारी निकायका प्रतिनिधि सहभागी थिए ।





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १९:४३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया