प्रधानमन्त्रीले १० हजार कित्ताका लागि आवेदन दिएसँगै माथिल्लो त्रिशूली ३ ‘बी’को सेयर बिक्री खुल्ला

काठमाडौं– ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक सेयर बिक्री बिहीबारदेखि सुरु भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एक हजार कित्ता आवेदन दिएपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री र ऊर्जामन्त्रीसँगै प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि सेयरका लागि आवेदन दिएकी थिइन् । उनले १० हजार कित्ताका लागि आवेदन दिएकी हुन् ।

नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सो कार्यक्रम सुरु गरेको सरकारको दाबी छ । 

२ फागुनमा ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रममा घोषणा गरेअनुसार प्रधानमन्त्री ओलीले सेयरको लागि आवेदन दिएका हुन् । कार्यक्रम घोषणा गर्दा प्रधानमन्त्रीले जलविद्युत् आयोजनामा सर्वसाधारणको स्वमित्व दिलाउने उद्देश्य लिएको बताएका थिए । र, पहिलो आवेदन आफूले नै हाल्ने उद्घोष गरेका थिए । 

प्रधानमन्त्रीले आवेदन दिएसँगै बिहीबारदेखि नै सर्वसाधारणको लागि समेत आवेदन खुल्ला गरिएको छ । ६ दिनका लागि भनेर सेयर आवेदन खुलाइएको भए पनि आवश्यक सेयर आवेदन नपरेमा वैशाख ६ सम्मका लागि अन्तिम मिति बढाउन सकिने आयोजनाले जनाएको छ । 

ऊर्जा मन्त्रालयले कार्यक्रमका लागि आवश्यक कार्यविधि यसअघि नै पारित गरिसकेको थियो । सोही कार्यविधिअनुसार कार्यक्रमअन्तर्गतका आयोजनाको सेयरमा ५१ प्रतिशत सरकारी निकाय र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वमित्व हुने व्यवस्था छ । ४९ प्रतिशतमध्ये १० प्रतिशत आयोजनाप्रभावित क्षेत्रका सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ३९ प्रतिशत आमसर्वसाधारणका लागि छुट्याउने व्यवस्था गरिएको छ ।



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार चार सय ७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना जनताको जलविद्युत् कार्यक्रमका लागि सुनिश्चित गरिसकेको छ । यो ३७ मेगावाटको जलविद्युत् आयोजना हो । अहिले सर्वसाधारणका लागि आयोजनाले ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर आवेदन खुलाएको छ । 

आयोजनाका लागि पहिलो चरणमा १० प्रतिशत वा १० रुपैयाँ मात्रै भुक्तान गरेर सर्वसाधारणले सेयर खरिद गर्न पाउनेछन् । बाँकी ९० रुपैयाँ कम्पनीले दोस्रो चरणमा निष्कासन गर्नेछ । पहिलो चरणमा सेयर खरिद गर्नेले मात्रै बाँकी ९० रुपैयाँको दरमा सेयर खरिद गर्ने सक्ने कम्पनीले जनाएको छ । 



आयोजनाको सेयर सर्वसाधारणले प्रतिकित्ता १० रुपैयाँको दरमा न्यूनतम एक सयदेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 
 


  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १५:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया