अझै किन उत्साहजनक छैन पर्यटकीय सिजन ?

पर्यटन क्षेत्रमा सेप्टेम्बर–नोभेम्बर मुख्य सिजन मानिन्छ । लामो समय अफसिजनबाट गुज्रिरहेका पर्यटन व्यवसायी जहिल्यै सिजनको पर्खाइमा हुन्छन् । कोरोना अघिसम्म व्यवसायीको पर्खाइ सुखद्मा परिणत हुन्थ्यो । तर, कोरोना पछि पर्यटन क्षेत्र सोचे जस्तो सुखद् हुन सकेको छैन । 

अझै पनि पर्यटन क्षेत्रले मुख्य सिजनमा समेत लय समात्न नसकेको ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) का अध्यक्ष नीलहारी बास्तोला बताउँछन् । ‘सेप्टेम्बर–नोभेम्बरसम्म पर्यटकीय सिजन हो,’ उनी भन्छन्, ‘मुख्य सिजनमा जति पर्यटक आउनु पर्ने थियो, त्यति अझै आएको पाइँदैन । कोरोना पछि पनि पर्यटन क्षेत्र अनुमान गरे अनुसार फस्टाउन सकेको छैन ।’

तर, गत सिजनमा भन्दा यो वर्ष पर्यटकको आगमनमा वृद्धि भएको छ । पर्वतीय पर्यटनका लागि उपयुक्त सिजन सुरु भएसँगै अहिले मासिक एक लाखको हाराहारीमा पर्यटक भित्रिरहेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार सन् २०२३ अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन् । यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च सङ्ख्या हो । सेप्टेम्बरमा मात्र १८६ देशबाट ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका थिए । यस वर्ष पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि कोरोना अघिका वर्षहरूमा जस्तो पर्यटकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन । 

नीलहारी बास्तोला, अध्यक्ष / टान

‘कोरोना अघि २०१८/१९ को वेसमा अझै पुग्न समय लाग्छ,’ टानका अध्यक्ष बास्तोला भन्छन्, ‘कोरोना अघिसम्म मुख्य सिजन (सेप्टेम्बर–नोभेम्बर) मा विदेशी पर्यटकको आगमन ह्वातै बढ्थ्यो । पर्यटक आगमनले पर्यटन क्षेत्र भिडभाड हुन्थ्यो । तर, कोरोनाले पर्यटन क्षेत्र ध्वस्त भयो ।  व्यवसाय जिरोबाट सुरु गरेका हौँ । यो अवस्थाबाट सुरु हुँदै जाँदा राम्रो हुँदै त गएको छ । तर, उत्साहित हुने अवस्था अझै छैन ।’ २०२४ देखि भने कोरोना अघिको अवस्थामा पर्यटन क्षेत्र फर्कन्छ कि भन्ने आकलन गरिएको उनी बताउँछन् । 

कति भित्रिए पर्यटक ?



अध्यागमन विभागका अनुसार सन् २०२३ को १० महिना (जनवरीदेखि अक्टोबर) सम्म ८ लाख ४० हजार ७ जना पर्यटक भित्रिएका छन् । विशेष गरी अन्य महिनाभन्दा पर्यटकीय सिजनमा पर्यटक आगमन बढेको छ । 

यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २४४, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जूनमा ७२ हजार २५०, जुलाई ८८ हजार ६५, अगष्ट ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार १२ र अक्टोबरमा १ लाख १७ हजार ३०७  विदेशी पर्यटक नेपाल आएका छन् । 



नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा ११ लाख १९ हजार १९१ जना पर्यटक भित्रिएका थिए । त्यसयता कोभिडका कारण सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा डेढ लाख पर्यटक भित्रिएका थिए । कोभिडपछि सन् २०२२ मा भने ६ लाख १४ हजार ८६९ पर्यटक भित्रिएका थिए ।

हिमाल आरोहणका लागि कतिले गरे बुकिङ ?

पर्यटकका लागि सिजन मानिने सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा विशेष गरी पर्यटकहरू हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउँछन् । यी सबै गन्तव्यतर्फ अहिले पर्यटकको आगमन उत्साहजनक रहेको पर्यटन विभागका निर्देशक तथा प्रवक्ता काली बहादुर भुजेल बताउँछन् । उनका अनुसार यी सबै गन्तव्यका लागि यति बेला पर्यटकहरूले अग्रिम बुकिङ गरिरहेका छन् ।

सिजनका लागि विभिन्न हिमाल आरोहणका लागि खुला भइसकेको छ । उनका अनुसार हालसम्म विभिन्न ४९ वटा हिमाल चढ्नका लागि अनुमति लिइएको छ । जसमा १५० समूहका १ हजार १ सय ८५ जनाले अनुमति लिइसकेको विभागका निर्देशक तथा प्रवक्ता भुजेलले बताए ।

उनका अनुसार शरद ऋतुका लागि उत्तम मानिने आमा दब्लम हिमाल चढ्न अहिलेसम्म सबैभन्दा धेरैले अनुमति लिएका छन् । आमा दब्लमका लागि ४०९ जनाले अनुमति लिएका छन् । यस्तै, दोश्रोमा मनास्लुका लागि तीन सय एक जनाले अनुमति लिएका छन् । जसमा दुई सय ३६ जना पुरुष र ६५ जना महिला छन् ।

आरोहण अनुमति लिने क्रम मध्यम सिरसम्म जारी रहेकाले अझै हिमाल आरोहणका लागि पर्यटक बढ्ने उनको भनाइ छ । गत वर्षको शरद याममा १ सय ७६ आरोहण दलका लागि १४ सय ४१ जनालाई विभागले अनुमति दिएको थियो । नेपालले हरेक वर्ष वसन्त, शरद र ग्रीष्म सिजनमा नेपालका हिमाल आरोहणका लागि अनुमति जारी गर्छ । 

सेप्टेम्बरको सुरुवातदेखि नै पर्यटकहरूले हिमाल आरोहण अनुमति लिइरहेको उनी बताउँछन् । ‘पर्यटकीय सिजन सुरु भएसँगै पर्यटकहरू हिमाल आरोहणमा निस्किसकेका छन्,’ उनी भन्छन्, ‘अहिले पनि अनुमति लिने र हिमाल चढ्न जानेको क्रम चलिरहेकै छ ।’

यस्तै, हिमाल आरोहणबाट राज्यलाई राम्रै रोयल्टी जम्मा हुने गरेको छ । यस याममा हिमाल आरोहणबापत पर्यटन विभागले हालसम्म ६ करोड ९१ लाख ९६ हजार ४५१ रोयल्टी जम्मा भएको छ ।

लयमा फर्कन किन सकेन पर्यटन क्षेत्र ?

पर्यटकीय गन्तव्यहरू चितवन, पोखरा, भैरहवा लगायतमा क्षेत्रमा अझै पनि पर्यटकको चहलपहल नरहेको व्यवसायीहरूले बताएका छन् । सबै गन्तव्यहरूमा पर्यटकीय चहलपहल बढाउन सरकारी तहबाटै योजना बनाएर अघि बढ्नुपर्ने टानका अध्यक्ष बास्तोला बताउँछन् । 

उनका अनुसार सरकारकै कमजोरीले जति पर्यटक भित्र्याउनुपर्ने हो त्यति ल्याउन सकिएको छैन । सरकारले सन् २०२३ लाई पर्यटन वर्ष घोषणा गर्ने र पर्यटन दशक पनि सुरु हुने भए पनि अहिलेसम्म कुनै पनि कार्यक्रमहरू अघि बढाउन सकेको छैन । 

‘कोरोनाले सबै देशलाई उत्तिकै असर गरेको हो,’ उनी भन्छन्, ‘कोभिडपछि अन्य मुलुकले पर्यटक भित्र्याउन योजना र प्याकेज घोषणा गरेर तेब्बरको सङ्ख्या पर्यटक बढाइसके । नेपालको केही योजना छैन । पर्यटन भित्र्याउने मात्र भनेर हुँदैन । सरकारको योजना खोइ? यसमा निजी क्षेत्रमा मात्र अघि बढेर हुँदैन ।’

यस्तै नेपालमा आवश्यक पूर्वाधार नै नभएको गुनासो पनि गरे । ‘नेपाल आएका पर्यटकलाई त सहज यात्रा गराउन सकेका छैनौँ । पर्यटकका लागि कुनै पूर्वाधार नै छैन,’ उदाहरण दिँदै उनी भन्छन्, ‘काठमाडौंबाट पोखरासम्मको २१० किलोमिटरको बाटो १३ घण्टामा पनि पुग्न सकिँदैन । धुवाँ धुलो त्यस्तै छ । घुम्न आएका पर्यटक दिनभर गाडिमा यात्रा गर्दै ठिक्क हुन्छ । त्यही पनि सहज भए त हुन्थ्यो । अनि अरू देशको ऐसआरामको यात्रा छोडेर पर्यटक नेपाल किन आउँछन् ?’

यति मात्र होइन, हवाई सेवा पर्यटन विकासका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । खास गरी युरोपियन युनियनले नेपाली हवाई उडान र आकाशलाई कालो सूचीमा राखेसँगै नेपालको पर्यटन क्षेत्रलाई ठूलो असर गरेको उनी बताउँछन् । यसले युरोप क्षेत्रका पर्यटकमा मात्र नभई समग्र नेपाली पर्यटनमा नै नकारात्मक प्रभाव पारेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले २०१७ मा नै नेपालाई कालो सूचीबाट हटाए पनि युरोपियन युनियनले अझै नहटाएका कारण नेपाली हवाई उडान माथिको अविश्वास उल्लेखनीय रूपमा घट्न सकेको छैन । 
 
उनी भन्छन्, ‘नेपालमा अलि रिक्स फ्याक्टर छ भन्ने तरिकाले बुझाइएको छ । सरकारले त्यो हटाउन सकेको छैन,’ उनी भन्छन्, ‘जसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ ।’ 

यस्तै, हवाई टिकटमा भ्याट कार्यान्वयन तथा होटल क्षेत्रमा लक्जरी करले पनि प्रभाव पारेको देखिन्छ ।  सरकारले चालू आर्थिक वर्षदेखि तारे स्तरका होटलमा बस्ने ग्राहक र त्यहाँ सेवा लिनेलाई यस्तो कर लगाएको छ । पहिला तिर्नुपर्ने रकममा ग्राहकले थप २ प्रतिशत लक्जरी कर तिर्नुपर्छ । यो रकमसहितको कुल रकममा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ । यसले पनि पर्यटन क्षेत्रमा प्रभाव पारेको उनको भनाइ छ । 

‘कर लिँदा व्यवसायीलाई त कुनै घाटा हुँदैन । तर, होटलमा बस्ने ग्राहकलाई थप आर्थिक भार पर्दा नेपालको पर्यटन छवि नै विश्वबजारमा नकारात्मक पर्छ,’ उनी भन्छन्, ‘एक त आर्थिक मन्दीको समस्या नेपालमा मात्र होइन, अरू देशमा पनि छ । अरू देशले पर्यटक भित्र्याउने चाहना राख्छ । अरू देशले विभिन्न राहत, प्याकेजको घोषणा गर्छन् तर, नेपालमा उल्टै भार थपिएको छ । हामीले कर नै नलगाउनु भन्न खोजेको होइन । कर लगाउनु सरकारको अधिकार हो । सरकारले राजश्व उठाउनुपर्छ । देश विकास गर्नुपर्छ । त्यो कुरा हामी पनि बुझ्छौँ । तर, यो कुरा समय सापेक्ष भएको छैन ।’ यस्ता साना–साना कुरा सरकारले सुधार गर्न नसक्दा नेपाल विदेशी पर्यटकको रोजाइमा पर्न सकेको छैन । 

सरकारले पर्यटकीय सिजनबाहेकका महिनामा पनि पर्यटक ल्याउने वातावरणको विकास गर्नुपर्ने उनको भनाइ छ । ‘पर्यटकलाई इन्गेज गर्ने गन्तव्यहरूको विकास पनि सरकारले गर्दै लानुपर्छ,’ उनी भन्छन्, ‘हाल पर्यटकीय गन्तव्य सीमित छन् । पर्यटकीय गन्तव्यमा जानका लागि सहज वातावरण छैन । सडक सुधार भएको छैन । सडक विस्तार गरी पर्यटकका लागि यात्रा सहजीकरण गर्नुपर्छ । यसरी सरकारले दीर्घकालीन सोच, नीति योजना खाकासहित गुणस्तरीय पर्यटक भित्र्याउने योजना अगाडि सार्नुपर्ने देखिन्छ ।’ साथै थोरै आए पनि गुणस्तरीय पर्यटक ल्याउन सकेको खण्डमा राष्ट्र र पर्यटक उद्योगलाई टेवा पुग्ने उनको भनाइ छ । 

त्यसका लागि नेपाल वायुसेवा निगमलाई बलियो बनाएर दुई देशबीच सिधा हवाई मार्गले जोड्न सके टिकट पनि सस्तो भएर पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुन सक्ने उनको आकलन  छ । यस्तै, आधुनिक प्रचार प्रसारको माध्यम (डिजिटल) को प्रयोग गरेर नेपालमा पर्यटक आउने सम्भाव्यता भएका मुलुकहरूमा सरकारले प्रचार–प्रसारमा जोड दिनुपर्ने देखिन्छ ।  

  • प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार ८:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया