बालबालिकालाई ‘एनिमल’ देखाउने वान सिनेमाजविरुद्ध कारबाही सिफारिस

चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उल्लंघन गरेको काठमाडौंको नयाँबानेश्वरस्थित चलचित्रहल वान सिनेमाजविरुद्ध कारबाही हुने भएको छ । चलचित्र विकास बोर्डले मापदण्डविरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो ।

सोमबार साँझ ६ः३० बजेको शोमा बालबालिकालाई टिकट बिक्री गरी चलचित्र देखाएको पाइएको बोर्डले जनाएको छ । बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, नीराजन गिरीलगायतले गरेको छड्केका क्रममा मापदण्डविपरीत चलचित्र देखाएको पाइएपछि हल व्यवस्थापनलाई ती बालबालिकाको टिकट तत्काल फिर्ता गर्न लगाइएको अनुगमन समिति संयोजक केसीले बताए । 

‘कानुनविपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाहीप्रक्रिया अघि बढाइनेछ । हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई अनुरोध गर्दछौँ’, अनुगमन समितिका संयोजक केसीले भने । 

कानुनले वर्जित गरेको कार्य गरेको भेटिएमा कानुनबमोजिम आवश्यक कारबाही हुने उनको भनाइ छ । सो घटनाबारे थप अनुसन्धान गरी बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए । 

सो चलचित्रले केन्द्रीय चलचित्र जाँचपास समितिबाट १६ वर्षमाथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैरकानुनी हो ।  





  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १३:४२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया