दीपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गर्नसक्ने तीन आइपिएल टिम
फाइल तस्बिर

१७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को मिनी अक्सन यही १९ डिसेम्बरमा दुबईमा हुँदैछ । यसपटक आइपिएल अक्सनमा केही नेपाली खेलाडीले पनि नाम दर्ता गराएका छन् । सूची सार्वजनिक नभए पनि विभिन्न सञ्चारमाध्यमका अनुसार सन्दीप लामिछाने, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेललगायत खेलाडीले अक्सनमा नाम दर्ता गराएका हुन् ।

 

केही दिनमा प्रारम्भिक अक्सन सूचीबाट सर्ट लिस्टमा अटाउने खेलाडीको नाम सार्वजनिक हुनेछ । सर्ट लिस्टमा अटाएका खेलाडी अक्सनमा जानेछन् । आसन्न सिजनको आइपिएल अक्सनमा सम्पूर्ण नेपाली समर्थकको नजर अलराउन्डर दीपेन्द्र सिंह ऐरीमाथि हुने देखिन्छ ।

पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटको प्रदर्शनलाई हेर्दा उनी आइपिएल अक्सनमा बिक्री हुने सम्भावना छ । यसैबीच, आज अक्सनबाट दीपेन्द्रलाई अनुबन्ध गर्नसक्ने तीन आइपिएल टिमको चर्चा गर्दैछौँ :

राजस्थान रोयल्स

सन् २००८ को आइपिएल च्याम्पियन राजस्थान दीपेन्द्रलाई अनुबन्ध गर्न सक्ने सम्भावित टिमको शीर्ष स्थानमा आउँछ । नेपालले यही वर्ष राजस्थान एकेडेमीको टिमसँग भारतमा अभ्यास म्याच खेलेको थियो । जहाँ नेपाली खेलाडीको क्षमताबाट राजस्थानका प्रतिनिधि प्रभावित भएका हुन सक्छन् । यस्तो अवस्थामा राजस्थानको रोजाइमा नेपाली खेलाडी पर्ने सम्भावना छ । 



राजस्थानबाट नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले सन् २००८ देखि २०१५ सम्म सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनी र राजस्थानबीच राम्रो सम्बन्ध छ । त्यसको फाइदा उठाउँदै मोन्टीले राजस्थानसँग नेपाली खेलाडीलाई अनुबन्धका लागि अनुरोध गर्न सक्छन् । मोन्टीको प्रशिक्षणमा दीपेन्द्रले थप उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 



हालै राजस्थानले तीन विदेशी खेलाडीलाई रिलिज गरेको थियो । उसले इंग्ल्याण्डका जो रूट, वेस्ट इण्डिजका जेसन होल्डर र ओबेद म्याक्वेयलाई रिलिज गरेको हो । उनीहरूको स्थानमा अब राजस्थानले अलराउन्डर भित्र्याउने देखिन्छ । यस्तो अवस्थामा दीपेन्द्र राजस्थानको रोजाइमा पर्न सक्छन् ।  

कोलकाता नाइट राइडर्स

दीपेन्द्रलाई अनुबन्ध गर्न सक्ने अर्को टिम हो कोलकाता नाइट राइडर्स । कोलकाताले अक्सनअघि ६ विदेशी खेलाडीलाई रिलिज गरेको थियो । उसले डेविड भिसे, जोनसन चार्लस, लिटन दास, शाकिव अल हसन, लकी फर्गुसन र टिम साउथीलाई रिलिज गरेको हो । कोलकाता उनीहरूको स्थानमा नयाँ वा वर्तमान समयका स्टार विदेशी खेलाडी अनुबन्ध गर्नेछ ।

शाकिवलाई रिलिज गर्नुले कोलकाता अलराउन्डरको पनि खोजीमा छ भन्ने बुझिन्छ । यस्तो हो भने शाकिवको स्थान दीपेन्द्रले लिन सक्छन् । यही वर्ष भएको एसिया कपमा कमेन्ट्री गरेका पूर्वक्रिकेटर गौतम गम्भीर हाल कोलकातामा टिम मेन्टरको रूपमा जोडिएका छन् । 

पूर्वक्रिकेटर गौतम गम्भीर

उनले एसिया कपमा दीपेन्द्रको ब्याटिङको प्रशंसा गरेका थिए । नजिकबाट उनको अलराउन्ड प्रदर्शन हेरेका गम्भीरले अक्सनमा दीपेन्द्रलाई अनुबन्ध गर्न रुचि देखाउन सक्छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोर

आउँदो सिजनको आइपिएलका लागि दीपेन्द्रलाई भित्र्याउन सक्ने अर्को सम्भावित टिम हो रोयल च्यालेन्जर्स बैंग्लोर । उसले केही दिनअघि स्टार स्पिनर वानिन्दु हसरंगासहित डेविड विली, फिन एलेन, जोश हेजलवुड, माइकल ब्रेसवेल र वेन पार्नेललाई रिलिज गरेको थियो ।

अक्सनबाट अब उसको नजर अलराउन्डरमाथि पनि हुनेछ ।

दीपेन्द्र ब्याटिङका साथै बलिङ/फिल्डिङ पनि राम्रो गर्ने भएकाले उनी बैंग्लोरको रोजाइमा पर्न सक्छन् । एसियन गेम्स र एसिया कपमा भारतविरुद्ध राम्रो प्रदर्शन गरेकाले पनि दीपेन्द्रलाई बैंग्लोरले अनुबन्ध गर्ने सम्भावना छ । 

  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार १२:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया