मौलिक भाका संरक्षणमा आमा समूह

मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ ।  यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजात समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि अन्य ठाउँमा खासै पाइँदैन ।  

बागलुङको जैमिनी नगरपालिका–३ दमेककी टीकादेवी क्षेत्री ६५ वर्षकी भइन्। यो उमेरमा पनि उनी गीत गाउने र रमाइलो गर्ने निकै रुचि राख्छिन्। बुढ्यौली लागे पनि टीकादेवीलाई पुराना भागाका गाउन कुनै समस्या छैन । मेला, पर्व र गाउँमा लाग्ने महोत्सवमा अहिले पनि उनी गीत गाउन हिँड्छिन्। खास गरी उनले बिना सालैजोको ठाडी भाका, यानीमाया, सुनिमाया र झ्याउरे गीत गाउने गरेकी छन् । 

पछिल्लो समय नयाँपुस्ताले आधुनिक र विदेशी गीतसङ्गीतप्रति चासो दिँदा मौलिक लोकभाका हराउँदै गएको जनाउँदै उनले चिन्ता व्यक्त गरिन । पुराना मौलिक लोकभाकालाई संरक्षण गर्न टीकादेवीको नेतृत्वमा महिला आमा समूहनै सक्रिय भएका छन् । गाउँमा सिर्जना आमा समूहमार्फत मौलिक गीतसङ्गीतको जगेर्ना भइरहेको छ । बूढापाकाले जानेबुझेका र गाउँदै आएका पुराना गीत सङ्गीत नयाँपुस्तालाई सिकाउने प्रयास उनहरूले गर्न थालेका छन् । धेरै लोकभाका हराउँदै गएपछि सिर्जना महिला आमा समूह सक्रियरुपमा यसको संरक्षणमा लागेका हुन् । गाउँमा हुने हरेक सार्वजनिक कार्यक्रम तथा परम्परागत चाडपर्वमा युवापुस्तालाई सँगै राखेर उनीहरूले गीत गाउने गरेका छन् । युवा गाउँ छोडेर विदेश तथा बजार झर्न थालेपछि सिक्ने मान्छेसमेत हराउँदै गएका छन् ।

अहिले बजारमा आउने आधुनिक, र्याप, हिन्दी र अङ्ग्रेजी गीतका कारण वर्षौं पुराना मौलिक गीत लोपोन्मुख हुँदै गएको टीकादेवीले बताइन् । पुराना गीत नसिकेसम्म गाउन नसकिने उनी बताउँछिन् । गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णताः दिनुपर्ने हुँदा यो ठाडी भाका गाउन कठिन हुने क्षेत्रीले बताइन् । मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा यस्ता भाका गाउने चलन रहेको उनी बताउँछिन् । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम बिना सालैजोको ठाडी भाका, सालैजो र झ्याउरे भाका भएको उनको भनाइ छ । आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताको चासो नहुँदा यस्ता गीत हराउन थालेको टीकादेवीले बताइन् । 

उनले भनिन्, ‘पहिले–पहिले गाउँघरमा धेरै काम गर्नुपथ्र्यो, मेलापात हुन्थ्यो, त्यति बेला झ्याउरे गाउने, ठाडोभाका आउने गरिन्थ्यो, ती पुराना गीतले थकाइ पनि हराउँथ्यो, रमाइलो र मनोरञ्जन दिने माध्यम बनेको थियो, तर अहिले धेरै गीत आएका छन्, हाम्रा नातीनातिनीले तिनै गीत सुन्ने गाउँने गर्छन्, तर हामीहरुले गाउँने पुराना भाका सुन्दैनन्, मन पराउँदैनन्, केही समय भयो हामी पुराना जमानाका बूढाबूढी मिलेर संरक्षणन गर्नुपर्छ भनेर लागेका छौँ ।’ 





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार १२:२४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया