एघार हजार बालबालिका राज्यको संरक्षणमा, कुन प्रदेशमा कति ?

हाल मुलुकभरका बालगृहमा ११ हजार दुई सय दुई जना बालबालिका संरक्षित छन् । आव २०७९/८० मा ५० वटा बालगृह बन्द भएकामा ५१ बालगृृह थप भई हाल चार सय १८ वटा बालगृह सञ्चालनमा छन् । मुलुकभर पाँच हजार एक सय ४४ बालक र छ हजार ५८ बालिका गरी जम्मा ११ हजार दुई सय दुईजना बालबालिका बालगृहमा संरक्षित छन् । 

राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार कोशी प्रदेशका आठ जिल्लामा २९ बालगृह सञ्चालनमा रहेका छन् । मधेस प्रदेशका पाँच जिल्लामा १३ बालगृह सञ्चालनमा रहेका छन् । बागमती प्रदेशका दश जिल्लामा दुई सय ९६ बालगृह सञ्चालनमा छन् जहाँ तीन हजार तीन सय ९९ बालक र चार हजार चार सय १५ बालिकाले अभिभावक पाएका छन् । 

गण्डकी प्रदेशका छ जिल्लामा ३७ बालगृह सञ्चालनमा रहेका छन् । जसमा पाँच सय ३५ बालक र छ सय २३ बालिका गरी जम्मा एक हजार एक सय ५८ बालबालिका संरक्षित रहेका छन् । लुम्बिनी प्रदेशमा, सात जिल्लामा १९ बालगृह सञ्चालनमा रहेका छन् । जसमा दुई सय ९१ बालक र दुई सय ५६ बालिका गरी जम्मा पाँच सय ४७ बालबालिका संरक्षित छन् ।

कर्णाली प्रदेशका पनि छ वटै जिल्लामा दश बालगृह सञ्चालनमा छन् । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला रहेका १४ बालगृहमा एक सय ७८ बालक र एक सय ३७ बालिका गरी जम्मा तीन सय १५ जना बालबालिकाले आश्रय पाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर ४३ जिल्लामा सञ्चालित चार सय १७ वटा बालगृहमा दश हजार नौ सय पाँच बालबालिका संरक्षित थिए ।

परिषद्ले आव २०७९/८० मा सम्बन्धित स्थानीय तहसँगको समन्वय र सहकार्यमा १२ वटा जिल्लाका एक सय २४ वटा बालगृहको अनुगमन गरिएको बताएको छ । 

सोही आवमा अभिभावक भएका दुई सय ३८ बालक र दुई सय ९० बालिका गरी जम्मा पाँच सय २८ जना बालबालिकाको परिवारिक पुनर्मिलन गरिएको र प्रचलित मापदण्डविपरीत सञ्चालनमा रहेका दुई वटा बालगृहबाट २७ जना बालक र १४ जना बालिकाको उद्धार गरिएको थियो । 





  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार १२:१०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया